राजनीति

महामन्त्री शर्माकाे बिचारमा राष्ट्रपति बनाउन कसलाई हुन्छ कसलाई हुन्न ?

१० फागुन, काठमाडौं । नेपाली कांग्रेसका सांसद विश्वप्रकाश शर्माले पूर्वप्रधानमन्त्रीहरूलाई राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने टिप्पणी गरेका छन् ।

प्रतिनिधिसभाको बुधबारको बैठकपछि संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुरा गर्दै कांग्रेस महामन्त्रीसमेत रहेका शर्माले कार्यकारी प्रमुख भइसकेका नेतालाई आलंकारिक राष्ट्रपतिको उम्मेदवार बनाउन नहुने बताए ।

त्यस्तै, उनले पूर्व-प्रधानमन्त्रीहरूलाई राष्ट्रपति बन्ने आकांक्षा नराख्न पनि अनुरोध गरेका छन् । महामन्त्री शर्माले कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवार बनाउनुपर्ने बताए ।

उनले अघि भने, ‘मैले शेरबहादुर देउवालाई राष्ट्रपति बनाउँ भनेको हो । तर फेरि म साथीहरूको छलफलबाट के कुरामा सहमत छु भने देशको प्रधानमन्त्री भइसकेर, कार्यकारी अधिकारलाई प्रयोग गरीसकेका कुनैपनि पूर्वप्रधानमन्त्रीहरूले राष्ट्रपति बन्ने आकांक्षातर्फ जानु, अझ उहाँहरूलाई अगाडि सार्नु त्यति उचित नहोला भन्ने साथीभाइहरूको भावनासँग म एकदम सहमत छु ।’

उनले सामाजिक सञ्जालमा भनेका छन्, “सभापतिलाई रास्ट्रपति बनाएर बरिस्ठ नेतालाई संसदीय दलको नेता, उपसभापतिलाई कार्यवाहक l दलिय दृस्टीले मेरो प्रस्ताव उचित l तर कार्यकारी बनिसकेका कसैलाई पनि रास्ट्रपति बनाउनु अनुपयुक्त, साथीहरूको यो विश्लेषण बढी परिपक्व छ l

`मेरो बुझाइ नै अन्तिम सत्य´ यस्तो भ्रममा म कहिल्यै रहन्न l”