पु.समाचार

एमाले सरकारबाट बाहिरिने तयारी

१२ फागुन, काठमाडौं। नेकाप एमाले सरकारबाट बाहिरिने तयारी गरेको छ । बालुवाटार बसेको ८ दलको बैठकले नेपाली कांग्रेसलाई राष्ट्रपति दिने सहमति गरेसँगै एमाले सरकारबाट बाहिरिने तयारी गरेको हो ।

राष्ट्रपति चयनबारे शुक्रबार एमाले अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाललाई भेटेका थिए । उक्त भेटमा पनि प्रधानमन्त्रीले सकारात्मक प्रतिक्रिया नदिएपछि ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई शुक्रबार साँझ यसबारे जानकारी गराएको एमालेका एक नेताले जानकारी दिए ।

शीतल निवासमा भएको भेटघाटमा ओलीले शनिबार बस्ने पदाधिकारी बैठकले सरकारबाट बाहिरिने औपचारिक निर्णय गर्ने जानकारी राष्ट्रपतिलाई दिएको स्रोतले बतायो ।

प्रचण्डको प्रस्तावमा माओवादी, जनता समाजवादी पार्टी, नेकपा (एकीकृत समाजवादी), जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी, जसपा, नागरिक उन्मुक्ति र राष्ट्रिय जनमोर्चाले कांग्रेसलाई समर्थन गरेका छन् ।