राजनीति

कांग्रेस नेतृत्वमा आठ दलीय गठबन्धन नै छैन : अध्यक्ष ओली

१३ फागुन, काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस नेतृत्वमा आठ दलीय गठबन्धन नै नबनेको बताएका छन् । अध्यक्ष ओलीले एमालेको तर्फबाट सुवाष नेम्वाङले राष्ट्रपति पदका लागि उम्मेदवारी दिएपछि सञ्चारकर्मीसँग यस्तो प्रतिक्रिया दिएका हुन् ।

आठ दलहरूबीच राष्ट्रपतिमा कांग्रेसलाई सघाउने कुनै पनि सहमति नभएको पनि अध्यक्ष ओलीको जिकीर थियो । सत्तारुढ गठबन्धन तलमाथि नभएकाले आफूहरुको उम्मेदवार नेम्वाङ अत्याधिक मतका साथ राष्ट्रपति पदमा विजयी हुने उनको दाबी छ ।

‘गठबन्धनको कुनै निर्णय छैन । आठ दलीय गठबन्धन पनि छैन । गठबन्धनका निर्णय पनि छैन’, उनले भने, ‘हिजो बेलुका प्रधानमन्त्री कार्यालयमा केही दलका साथीहरुलाई बोलाइएको थियो । उहाँहरु हाम्रो सम्पर्कमै हुनुहुन्छ ।’

त्यस्तै, ओलीले राष्ट्रपतिको उम्मेदवार सुवास नेम्वाङ अनुभवी, कानुनवेत्ता र लामो समय सभामुखको गरिमामय पदको योग्य उम्मेदवार भएको बताएका छन् । अध्यक्ष ओलीले संविधानसभाको अध्यक्षको हैसियतले नेम्वाङ नेपाली राजनीतिमा महत्वपूर्ण भूमिका निर्वाह गर्नुभएका सफल राजनीतिज्ञ भएको बताए ।

अध्यक्ष ओलीले भने, “नेम्वाङलाई राष्ट्रपतिको पदको निर्वाचनका लागि उम्मेदवारका रुपमा उठाएका छौं । हामीले दलीय स्वार्थ हैन राष्ट्रिय स्वार्थका लागि, राष्ट्रको जित र जनताको हितका लागि तथा संविधानको सफल कार्यान्वयन, प्रणालीको रक्षा, सफल प्रयोग र प्रवद्र्धनका लागि उम्मेदवारी उठाएका हौँ ।”

उनले आफ्नो उम्मेदवार सर्वत्र स्वीकार्य मात्र नभई स्वागतको विषय बन्ने विश्वास व्यक्त गर्दै हरेक मतदाताले सहयोग गर्ने अपेक्षा व्यक्त गरे । उनले भने, “हाम्रो उम्मेदवार, हामीले उठाएको उम्मेदवार दाउपेजको हैन । आप्mनो प्रतिबद्धता र वचनबद्धताबाट आफूले सार्वजनिक गरेका विषयबाट कोही पनि पछि हट्ने अवस्था हुन्न भन्ने हाम्रो विश्वास छ ।”