राजनीति

एमालेले पनि मलाई सहयोग गर्छ : राष्ट्रपतिका उम्मेदवार पौडेल

१३ फागुन, काठमाडौं ।नेपाली कांग्रेसका वरिष्ठ नेता तथा राष्ट्रपतिका उम्मेदवार रामचन्द्र पौडेलले एमालेको पनि सहयोग लिएर सर्वसम्मत रुपमा राष्ट्रपतिमा निर्वाचित हुनेमा बताएका छन् । राष्ट्रपतिको लागि उमेदवारी मनोनयनदर्ता गरेपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले एमाले अध्यक्ष केपी शर्मा ओली जेल बस्दाको साथी भएको भन्दै आफुलाई समर्थन गर्ने बताएका हुन् ।

पौडेलले,’एमाले अध्यक्ष केपी ओली पनि म संगै जेलमा बस्नु भएको हो । लामो समयदेखिको हामी साथी हौँ । राष्ट्रपति सबैको साझा पद हो । यसमा मलाई जिताउन उहाँले योगदान गर्नुहोला भन्ने लागेको’, बताए ।

उनले राष्ट्रिय स्वतन्त्र पार्टीका अध्यक्ष रवि लामिछानेबाट पनि सकारात्मक जवाफ आएको भन्दै आफ्नो उम्मेदवारीलाई ८ राजनीतिक दलले समर्थन गर्ने समेत बताए ।

उम्मेदवारी दर्ता पछि पौडेलले भने,’ नेपालको संविधान २०७२ को अक्षरश: पालना गर्ने, संविधानको रक्षा गर्ने र संघीय लोकतान्त्रिक गणतन्त्र संस्थागत गर्न अहिले चुनौती छ,नेपाली जनताको हातमा आएको सर्वभौमसत्तालाई बलियो गरेर सुरक्षित राख्नु पर्नेछ । नेपालमा आएको परिवर्तनलाई संस्थागत गर्दै नेपालको उन्नतिका लागि अघि बढ्ने र नेपालको राष्ट्रिय एकता र अखण्डतालाई जोगाउने काममा मेरो सहयोग हुन्छ ।,’

उनले राष्ट्रपतिको लागि आफ्नो उम्मेदवारी गणतन्त्र संस्थागत गर्नका लागि भएको बताउदै संविधानको रक्षा सँगै परिवर्तनको उपलब्धी संस्थागत गर्नका लागि आफुले काम गर्ने प्रतिबद्धता समेत व्यक्त गरे ।