अन्तर्राष्ट्रिय

मध्य एशियामा आफ्नो प्रभाव विस्तार गर्दै अमेरिका

१४ फागुन, एजेन्सी । रुसको ऐतिहासिक प्रभावले सहयोगको सीमालाई सीमित गरे पनि अमेरिकी विदेशमन्त्री एन्टोनी ब्लिङ्केन पूर्वशोभियत गणतन्त्रहरूलाई अझ व्यापक अमेरिकी सहयोग र संलग्नामा आश्वस्त पार्न मध्य एशियाली देशको भ्रमणमा निस्कदै छन् ।

युक्रेन युद्धको प्रथम वार्षिकीपछि अमेरिकाका शीर्ष कूटनीतिज्ञ आगामी मङ्गलबार कजाकिस्तान र त्यसपछि उज्वेकिस्तान पुग्ने भएका छन् । कजाकिस्तानको राजधानी अस्तानमा सबै पाँच पूर्वशोभियत राज्यका विदेशमन्त्रीसँग उहाँले संयुक्तरूपमा भेटवार्ता गर्नेछन् ।

दक्षिण र मध्य एशियाका लागि अमेरिकी कूटनीतिज्ञ डोनाल्ड लुले पूर्वशोभियत राज्यहरूले रुस वा चीनसँगको सम्बन्धलाई महत्व दिइरहेका बेला त्यहाँ अमेरिकी उपस्थिति प्रवद्र्धन गर्नु अपरिहार्य भएको बताएका छन् । विदेशमन्त्री ब्लिङ्केनको भावी भ्रमण मस्को र बेइजिङभन्दा वासिङ्टन विश्वसनीय साझेदार भएको ती देशलाई आश्वास्त पार्ने उद्देश्यका साथ हुन लागेको पत्रकारहरूलाई बताएका छन् ।

पूर्वशोभियत गणतन्त्रहरूमा अमेरिकी संलग्नता बढाउने तथा आर्थिक सहायता उपलव्ध गराउने सन्दर्भमा भ्रमण हुन लागेको उनले उल्लेख गरे । ती देशसँग अमेरिकी प्रस्तावबारे छलफल गर्न आवश्यक भएको उनको कथन छ ।

कूटनीतिज्ञ तथा विज्ञहरूका अनुसार मध्य एशियाली देशका नेताहरू मस्कोसँग औपचारिक सुरक्षा सम्झौताबाट विमुख हुन चाहदैनन् । रुस नै उनीहरूका श्रमिकहरूको प्रमुख गन्तव्य मुलुका हो । यस्तो पृष्ठभूमिमा उनीहरू रुससँगै रहेको देखाउन चाहन्छन् भने उसको आर्थिक प्रभावबाट मुक्त हुन असमर्थ छन् । गत बिहीबार संयुक्त राष्ट्रसङ्घको महासभाले युक्रेनमा दिगो शान्ति कायम गर्न त्यहाँबाट रुसी सेना तत्काल निःशर्त आफ्नो देश फर्कनुपर्ने प्रस्तावमाथिको मतदानमा पनि ती देश सहभागी भएनन् । मध्य एशिया अमेरिकाका निम्ति सीमाहीन भएको मध्य एशिया विज्ञ पिट्सवर्ग विश्वविद्यालयका जेनिफर ब्रिक मर्तजासभिली बताउँछन् ।