राजनीति

प्रधानमन्त्रीले बोलाए आठ दलको बैठक

१४ फागुन, काठमाडौँ । प्रधानमन्त्री पुष्पकमल दाहालले आठ दलको बैठक बोलाएका छन्। आज साँझ ६ बजे प्रधानमन्त्री निवास बालुवाटारमा बैठक बस्न लागेको हो।

राष्ट्रिय प्रजातन्त्र पार्टीले समर्थन फिर्ता लिएर बाहिरिएको छ भने नेकपा एमालेले सरकारलाई दिएको समर्थन फिर्ता लिएको छैन । बैठकमा राष्ट्रपतिको निर्वाचन अगाडी विश्वासको मत लिने या नलिने भन्नेबारे छलफल हुने भनिएको छ।

राष्ट्रपति निर्वाचनको अवसरमा उम्मेदवार छनोटको विषयलाई लिएर सत्ता साझेदारी एमालेसँगको राजनीतिक खटपटका कारण हिजो नै आठ दलको नयाँ गठबन्धन बनेको थियो। 

काँग्रेस माओवादी केन्द्र, एकीकृत समाजवादी, जसपा लगायत दलहरू गठबन्धनमा आबद्ध छन्। बैठकमा राष्ट्रपतिको निर्वाचन र सरकारमा मन्त्री फेरबदलको विषयमा छलफल हुनसक्ने देखिएको छ । 

राष्ट्रपतिको उम्मेदवारमा आठ दलको तर्फबाट काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेल र एमालेका उपाध्यक्ष सुवास नेम्वाङले उम्मेदवारी दिएका छन्।