१४ फागुन, काठमाडौँ। प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको आठ दलको बैठकले राष्ट्रपति निर्वाचनका लागि कार्यदल बनाउने निर्णय गरेको छ । बैठकले प्रत्येक दलबाट एक-एक जना सदस्य रहेको कार्यदल गठन गरेर राष्ट्रपति निर्वाचन कार्यक्रम सञ्चालन र व्यवस्थापन गर्ने समझदारी भएको स्रोतले जनाएको छ।
बैठकले राष्ट्रपति निर्वाचनको प्रचारप्रसारका सन्दर्भमा फागुन १८ मा आठै दलका सङ्घीय सांसदहरूको बिचमा बैठक र छलफल गर्ने निर्णय गरेको छ। त्यस्तै फागुन १९ गते प्रत्येक प्रदेशहरूमा कार्यक्रम गर्ने र त्यसका लागि नेताहरू पठाउने ,फागुन २३ मा सबै प्रदेशसभाका सांसदहरूलाई काठमाडौँ बोलाइसक्ने र २४ गते सबै प्रमुख नेताहरूले सबै सांसदहरूसमक्ष आफ्ना धारणा राख्ने बैठकले निर्णय गरेको हो।
राष्ट्रपति निर्वाचनको सँघारमा बनेको आठ दलीय गठबन्धनमा माओवादी केन्द्र, काँग्रेस, जसपा, एकीकृत समाजवादी, लोसपा, जनमत पार्टी, नागरिक उन्मुक्ति पार्टी र राष्ट्रिय जनमोर्चा सहभागी छन् । आठ दलले काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई राष्ट्रपतिको उम्मेदवारको रूपमा अगाडि सारेका छन् ।





