१५ फागुन, काठमाडौं ।
नेकपा एमालेका मन्त्रीहरुले राजीनामा दिएका छन् । सोमबार प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री पुष्पकमल दाहाललाई एमालेबाट सरकारमा सहभागी मन्त्रीहरुले राजीनामा बुझाएका हुन्।
उपप्रधानमन्त्री एवम् अर्थमन्त्री विष्णु पौडेलसहित कृषि मन्त्री ज्वालाकुमारी शाह, परराष्ट्रमन्त्री विमला राई पौड्याल, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री दामोदर भण्डारी, स्वास्थ्य तथा जनसंख्यामन्त्री पदम गिरी, रक्षा मन्त्री हरि उप्रेती, महिला बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री भगवती चौधरी र भूमिसुधार मन्त्री राजेन्द्रकुमार राईले राजीनामा बुझाएका हुन् ।
राष्ट्रपति कांग्रेसलाई दिने प्रधानमन्त्रीको निर्णयसँगै एमालेले सरकार छाड्ने निर्णय गरेको हो । पुस १० गतेको सहमति कार्यान्वयन नभएपछि एमाले सरकारबाट बाहिरिएको हो ।
एमालेको पुर्वसहमति अनुसार राष्ट्रपति आफुले पाउनु पर्ने अडान थियो । तर प्रधानमन्त्रीले एमालेसँग गठवन्धन तोड्दै पुरानै गठवन्धनका दलहरुसँग नयाँ गठवन्धन गरेका हुन् । ८ दलको समर्थनमा कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले पदका लागि उम्मेदावरी दिएका छन् ।





