१६ फागुन, काठमाडौँ । नेपाली काँग्रेसकी नेतृ एवं सांसद आरजु राणाले नेपालको साइबर सुरक्षामा चुनौती रहेको बताएकी छन् । आज नेपाल विद्यार्थी सङ्घद्वारा ललितपुरमा आयोजित अल नेपाल ह्याकथन कार्यक्रममा बोल्दै उनले नेपाली सेनाको डिजिटल अभिलेखमा समेत छिद्र रहेको बताएकी हुन्।
उनले नेपाली सेनाको डेटाहरू आफूले टर्की पुग्ने गरेको जानकारी पाएको भन्दै साइबर सुरक्षामा नेपालले आफ्नै प्रविधिको विकास गर्न जरुरी रहेको समेत बताइन । ‘नेपालले साइबर सुरक्षाका लागि आफ्नै प्रविधि विकास गर्न नसकुन्जेल नेपालको सुरक्षा लगायतका सबैखाले तथ्याङ्कहरू चोरी हुने खतरा हुन्छ’,। उनले भनिन।
राणाले भनिन ‘हाम्रो जस्तो देशमा के हुँदो रहेछ भने हामीले शुरु त गर्यौँ, हाम्रो आर्मीको सबै डेटा टर्कीमा देखाइदियो। जर्साबहरुको सबै इमेल देखाइदियो मलाई। पर्सनल इमेल थियो तर भोलि सुरक्षासम्बन्धी कुनै पनि इमेल अर्को देशबाट सहजै हेर्न सकिन्छ’। साइबर सुरक्षाका लागि हामीले आफ्नै समाधान खोज्नुपर्ने उनको भनाइ छ । सरकारले यस बारे केही सुधारको काम गरेको भन्दै विद्यार्थीहरूले यसमा थप अनुसन्धान गर्नुपर्ने बताएकी हुन् ।





