खेलकुद

आइसिसी यू–१९ विश्वकप छनोट : मलेसियामाथि नेपालको सानदार जित 

१६ फागुन, काठमाडौँ । आइसिसी यू–१९ विश्वकप एसिया क्षेत्र छनोटको चौथो खेलमा नेपालले मलेसियालाई १० विकेटले हराएको छ। सानदार जित निकाल्ने क्रममा नेपालले पाएको ७३ रनको लक्ष्य बिना क्षति पावर प्ले नसकिँदै पूरा गरेको हो ।

९ ओभरमा ७३ रनको लक्ष्य पूरा गर्ने क्रममा नेपालका ओपनर दिपक बोहराले २९ बलमा ८ चौका प्रहार गर्दै ३८ रन बनाए । त्यस्तै अर्का ओपनर अर्जुन कुमालले २५ बलमा ३ चौका सहित २१ रन बनाए ।

यसअघि मलेक क्रिकेट मैदानमा, टस जितेर ब्याटिङ गरेको मलेसिया ३५.३ ओभरमा ७२ रन बनाउँदै अलआउट भएको थियो । मलेसियाका लागि मोहम्मद अक्ररम मलिकले सर्वाधिक २६ रन बनाए ।

नेपालका लागि स्पिनर दीपेश कँडेलले १० ओभर बलिङ गर्दै ४ मेडन सहित ११ रन खर्चेर सर्वाधिक ४ विकेट लिए । आकाश चन्दले ४.३ ओभर बलिङ गर्दै ९ रन खर्चेर ३ विकेट लिए ।

मिलन बोहराले ९ ओभर बलिङ गर्दै ५ मेडन सहित ८ रन खर्चेर २ विकेट लिए । स्पिनर सुवास भण्डारीले १ विकेट लिए ।नेपालका लागि यो लगातार चौथो जित हो । नेपालले पाँचौं तथा अन्तिम खेल बिहिवार यूएईसँग  खेल्नेछ ।