१६ फागुन, काठमाडौँ । वैशाख १० गते हुने भनिएको चितवन क्षेत्र नम्बर २ को निर्वाचनका लागी १८ राजनीतिक दलले दल दर्ता गरेका छन् ।
निर्वाचन आयोगले फागुन १० गतेदेखि फागुन १६ गतेसम्म निर्वाचन आयोगमा दल दर्ता गर्न सूचना जारी गरेपछि आज अन्तिम दिनसम्म राष्ट्रिय पार्टी देखि साना पार्टीहरू गरी जम्मा १८ वटा राजनीतिक दलले दर्ता गरेका हुन्।
राष्ट्रिय दलको मान्यता पाएका ७ दलमध्ये उपनिर्वाचनमा एमाले, काँग्रेस, माओवादी केन्द्र, राष्ट्रिय स्वतन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी गरी ५ वटा दल मात्र निर्वाचनमा सहभागी हुने भएका छन् । त्यस्तै नागरिक उन्मुक्ति पार्टीले पनि निर्वाचनमा भाग लिने भएको हो ।
जनता समाजवादी पार्टी, जनमत पार्टी र एकीकृत समाजवादी पार्टी उपनिर्वाचनमा सहभागी नहुने भएको छ । यी तीन वटै पार्टीले दल दर्ता गराएका छैनन्। तत्कालीन सांसद रवि लामिछानेको नागरिकता विवादका कारण सर्वोच्च अदालतले उनको पद खारेज गरिदिएको कारण उक्त क्षेत्र प्रतिनिधि विहीन बन्न पुगेको थियो ।
निर्वाचन आयोगले आगामी चैत २० गते उम्मेदवारी मनोनयनको कार्यपालिका सार्वजनिक गरेको छ। चैत २१ गते उम्मेदवारको विरोधमा उजुरी दिने, चैत २२ गते मनोनयन पत्रमा परेको उजुरीको आधारमा छानबिन गरी निर्णय दिने साथै उम्मेदवारको नामावली प्रकाशन, र उम्मेदवारको अन्तिम नामावली चैत २३ गते प्रकाशन गरी निर्वाचन चिह्न प्रदान गर्ने निर्वाचन आयोगले जनाएको छ ।





