राजनीति

संविधान र प्राप्त उपलब्धिको रक्षाका लागि सहमति अपरिहार्य : काँग्रेस नेता निधि

१६ फागुन, धनुषा । नेपाली कांग्रेसका नेता विमलेन्द्र निधिले संविधान र प्राप्त उपलब्धिको रक्षाका लागि परिवर्तन पक्षधर दलहरूबीचको सहमति अपरिहार्य रहेको बताएका छन् ।

जनकपुरधाममा आयोजित नेपाल प्रेस युनियन मधेस प्रदेश कार्यसमितिको पदस्थापन कार्यक्रममा पार्टी पूर्वउपसभापति निधिले पछिल्लो परिवर्तनको प्रमुख राजनीतिक शक्ति नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) केन्द्रबीच दूरी बढ्दा देशले पनि दुःख पाउने भएकाले पुस १० को ‘कोर्स करेक्सन’ गर्दै राष्ट्रपतिका लागि एक ठाउँमा उभिएको बताएका हुन् ।

“नेपाली कांग्रेस, माओवादी केन्द्रलगायतका दलहरू चुनावी गठबन्धन बनाएर आमनिर्वाचनमा गयौँ तर पुस १० पछि एक ठाउँमा रहेनौँ । त्यसको गल्ती हामी सबैले महसुस गरिसकेका छाँै”, उनले भने, “नेपाली कांग्रेसले पुस २६ गते माओवादी केन्द्रका अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाललाई विश्वासको मत दिएर ‘कोर्स करेक्सन’ का लागि प्रारम्भ ग¥यो र राष्ट्रपतिमा आठ दलको सहमति त्यसको परिणाम हो । यसबाट सबै लोकतन्त्रवादी शक्ति र जनता उत्साहित भएका छन् ।”

उनले सम्पूर्ण दलको सहमतिमा राष्ट्रपति चयन गर्ने चाहनामा नेकपा (एमाले) बाधक भए पनि संसद्मा रहेका १० दल सहमतिका लागि एक ठाउँमा उभिने विश्वास व्यक्त गरे । “आठ दल एक ठाउँमा उभिसकेका छौँ, सरकारलाई समर्थन कायमै राखेकाले राष्ट्रिय स्वतन्त्र पार्टी पनि थपिने हाम्रो विश्वास छ”, निधिले भने ।

उनले प्रधानमन्त्री दाहालले जुनसुकै दिन विश्वासको मत लिन चाहे पनि कुनै समस्या नरहेको बताए । कार्यक्रममा नेपाल प्रेस युनियनका अध्यक्ष शिव लम्साल, युनियनका उपाध्यक्ष अनिल कर्ण, नेता रामजी दाहाललगायतले आआफ्नो धारणा राखेका थिए।

माघ २० गते बाराको कलैयामा भएको अधिवेशनबाट सत्यप्रकाश श्रेष्ठको अध्यक्षतामा मधेस प्रदेश कार्यसमिति निर्वाचित भएकोमा मङ्गलबार पदस्थापन गरिएको र मङ्गलबार नै प्रदेश कार्यसमितिको पूर्ण बैठक पनि राखिएको प्रदेश अध्यक्ष श्रेष्ठले जानकारी दिए ।