खेलकुद

एन्फा बैठक : झन्डै कुटाकुट, टेबलको सिसा फुट्यो

१७ फागुन, काठमाडौँ । अखिल नेपाल फुटबल सङ्घ (एन्फा)को कार्यसमिति बैठकमा  संस्थापन पक्ष र असन्तुष्ट पक्षबिच चर्को विवाद भएको छ। विवादले उग्र रूप लिएपछि दुई पक्ष झन्डै कुटाकुट अवस्था सृजना भएको हो। 

अध्यक्ष नेम्वाङले आफू अध्यक्ष भएको कारण के एजेन्डा राख्ने या नराखे आफ्नो निर्णय हुने बताएका थिए । संस्थापना पक्षको उक्त भनाइ पछि विवादले चर्को रूप लिएको हो। श्रोतका अनुसार उपाध्यक्ष द्वय दीर्घ बहादुर केसी र दावा लामाबिचमा भनाभन भएको थियो । विवादकै बिचमा टेबल ठोक्दा टेबलको सिसा समेत फुट्नुका साथै झन्डै हात हालाहालको अवस्था उत्पन्न भएको हो । 

 कार्यसमितिमा रहेका १० जना सदस्यले  महासचिव किरण राई र कोषाध्यक्ष रवीन्द्र जोशीको बर्खास्तीलाई बैठकको एजेन्डा बनाउन पर्ने माग गरेको र सो मागलाई अध्यक्ष पङ्कजविक्रम नेम्वाङले एजेन्डामा नराख्ने निर्णय गरेपछि विवाद उत्पन्न भएको थियो । एन्फा कार्यसमितिमा २१ जनाको टिम छ, आजको बैठकमा एक जना सदस्य विदेशमा भएकाले बैठकमा उपस्थित भएका छैनन् ।