राजनीति

 विश्वासको मत लिएपछि मात्र सरकार विस्तार : उपसभापति खड्का

१७ फागुन, काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति पूर्णबहादुर खड्काले प्रधानमन्त्री पुष्पकमल दाहालले सांसदबाट  विश्वासको मत लिएपछि मात्रै सरकार निर्माणको चरण प्रारम्भ गर्नुहुने बताएका छन्। 

गृह जिल्ला सुर्खेत पुगेका खड्काले आज पत्रकारसँग कुराकानी गर्दै फागुन २५ मा राष्ट्रपति र चैत ३ मा उपराष्ट्रपति चुनाव सम्पन्न गर्ने र त्यसपछि प्रधानमन्त्रीले विश्वासको मत लिएर मात्रै सरकार निर्माणको चरण प्रारम्भ हुने बताएका हुन्।

“सरकार निर्माणको चरण प्रारम्भ भएको छैन”, खड्काले भने, “राष्ट्रपति र उपराष्ट्रपति निर्वाचन सकिन्छ र प्रधानमन्त्रीले विश्वासको मत लिएपछि मात्र सरकार निर्माण चरण प्रारम्भ हुन्छ ।” प्रधानमन्त्रीले विश्वासको मत लिएपछिका दुई तीन दिनभित्र सरकार निर्माणको चरण पूरा हुने खड्काको भनाइ थियो ।

अहिले सरकारमा जानेबारे र को–को मन्त्री बन्ने भन्ने विषयमा चर्चा गर्ने बेला भई नसकेको खड्काको भनाइ थियो । गत पुस १० मा कमजोरी हुँदा नेकपा (एमाले) सहित सात दलबिच नयाँ गठबन्धन बनेको र त्यो प्राकृतिक नभएकोले भत्काइएको खड्काको भनाइ छ ।

उपसभापति खड्काले आफू अब मन्त्री नबन्ने पनि दोहोर्‍याएका  छन् । यो कुरा आफूले २०७२ सालमै अर्घाखाँचीमा पुगेर घोषणा गरेको र त्यसमा आफू अहिलेसम्म पनि अडिग रहेको उपसभापति खड्काको भनाइ छ ।