राजनीति

प्रधानमन्त्री दाहालले चीनविरुद्ध गद्दारी गरे : एमाले अध्यक्ष ओली 

२० फागुन, काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहालले चीनविरुद्ध गद्दारी गरेको आरोप लगाएका छन्। उनले मुस्ताङमा विश्वविद्यालय खोल्ने भारतको प्रस्तावलाई स्वीकार गरेर दाहालले मुलुकलाई विदेशीहरूको खेल मैदान बनाउन खोजेको बताएका हुन् । 

आज एमाले पार्टी केन्द्रीय कार्यालय च्यासलमा स्थानीय तह कर्मचारी सङ्घ, नेपालले आयोजना गरेको कार्यक्रममा बोल्दै ओलीले भारतले मुस्ताङको युरेनियमलाई ध्यान दिएर विश्वविद्यालय खोल्ने भनेको र त्यो मुलुकका लागि नै अति खतरनाक भएको समेत बताए। 

ओलीले भने,‘विश्वविद्यालय बनाउन खोजेको हो र त्यहाँ ? विश्वविद्यालयको नाममा अर्कै थोक गर्न खोजिएको हो । विदेशीहरूको खेल मैदान बनाउन खोजेको हो । त्यहाँको युरेनियम, त्यसमा ध्यान दिएको हो।, ‘

कार्यक्रममा ओलीले ,‘जहाँ मान्छे छैन, त्यहाँ विश्वविद्यालय बनाउने रे । त्यो भनेको त्यहाँ खास उद्देश्यका मान्छेहरू मात्रै बस्छन् ।त्यसकारण विश्वविद्यालय बनाउने कुरा खतरनाक भएको,’बताए। 

प्रधानमन्त्री दाहालको आलोचना गर्दै ओलीले भारतलाई खुशी पार्न प्रधानमन्त्रीले भारतबाट आउने तरकारीहरूको जाँच गर्नु नपर्ने आदेश दिएको आरोप लगाए ।