खेलकुद

सातौँ संकरणको विराट गोल्डकप आजदेखि

९ चैत्र, सुन्दरहरैँचा । सातौँ संस्करणको विराट गोल्डकप आजदेखि विराटनगरको शहीद रङ्गशालामा सुरु हुनेभएको छ । प्रतियोगिता चैत १७ गतेसम्म सञ्चालन हुनेछ । आज हुने गोल्डकपको उद्घाटन खेलमा आयोजक घरेलुु टिम विराटनगर सिटी क्लब तथा नेपाल पुलिस क्लब भिड्दैछन् ।

प्रतियोगितामा नेपाल, भारत र भूटानका गरी गरी आठ वटा टोलीले सहभागिता जनाउने विराटनगर महानगरपालिकाका प्रमुख तथा गोल्डकपका संयोजक नागेश कोइरालाले जानकारी दिए।

गोल्डकपको विजेता टिमले रु २० लाख १५ हजार तथा उपविजेता टोलीले रु १० लाख २५ हजारसहित पदक र प्रमाणपत्र प्राप्त गर्नेछन् । प्रतियोगितामा तीन विभागीय टोली एपीएफ, त्रिभुवन आर्मी र नेपाल प्रहरी तथा सङ्कटा, जाउलाखेल र घरेलु टिम विराटनगर सिटी एफसीको सहभागिता रहने प्रतियोगिताका सहसंयोजक सुवाशिष कोइरालाले जानकारी दिए।

यसपटकको विराट गोल्डकपमा विधागत खेलाडीलाई जनही रु २५ हजार तथा प्लेयर अफ द म्याचलाई रु ११ हजार पुरस्कार प्रदान गरिनेछ । प्रतियोगिता सम्पन्न गर्नका लागि रु दुई करोड ५० लाख खर्च लाग्ने अनुमान गरिएको छ ।

तत्कालीन राजा महेन्द्रका नामबाट २०१८ सालमा महेन्द्र गोल्डकपबाट सुरू गरिएको प्रतियोगिता पछिल्लो संस्करणका रूपमा २०५७ सालदेखि विराट गोल्डकपका रूपमा खेलाइँदै आएको हो । पञ्चायतकालमा २७ पटक र बहुदल आएपछि विराट गोल्डकपका नामबाट सातौँ प्रतियोगिता हुन लागेको हो ।

पूर्वमा नेपाली फुटबलको सानका रूपमा रहेको विराट गोल्डकप प्रतियोगितामा सहभागी हुन दर्शकका लागि टिकट खरिद खुला गरिएको आयोजकले बताएको छ । टिकेटिङका लागि पार्टनर खल्ती एपसँग सम्झौता भएको उल्लेख गरिएको छ ।