राजनीति

लायन्स क्लबले मानव सेवाका विविध क्षेत्रमा पु¥याएको योगदान अतुलनीयः पूर्वराष्ट्रपति डा यादव

११ चैत्र, जनकपुर । पूर्वराष्ट्रपति डा रामवरण यादवले लायन्स क्लबले मानव सेवाको विविध क्षेत्रमा पु¥याएको योगदान अतुलनीय रहेको बताएका छन् ।

लायन्स क्लब ३२५ एफ को पहिलो साधारणसभाको आज जनकपुरधाममा उद्घाटन गर्दै उनले लायन्स क्लबले नेपालको शिक्षा, स्वास्थ्य तथा सामाजिक क्षेत्रमा गरेको काम प्रशंसनीय रहेको र अब वातावरण संरक्षणका क्षेत्रमा पनि योगदान गर्न आवश्यक भएको बताए ।

पूर्वराष्ट्रपति डा यादवले कुनै बेला धान चामल निर्यात गर्ने देशका रूपमा चिनिएको नेपालमा अहिले बर्सेनि अर्बको खाद्यान्न आयात गर्नुपर्ने अवस्था आएकाले कृषि उद्यम, आर्थिक विकास र पर्यावरण संरक्षणमा युवालाई जुट्न आग्रह गरे ।

उद्योगपति एवं लायन राजेन्द्र खेतानले समृद्ध देश बनाउनका लागि लगानीमैत्री वातावरण, सामूहिक प्रयास तथा अठोटको आवश्यकता भएको बताए । कार्यक्रममा प्रतिनिधिसभाका सदस्य जुलीकुमारी महतो, जनकपुरधाम उपमहानगरपालिका प्रमुख मनोजकुमार साहलगायतले शुभकामना मन्तव्य राखेका थिए । भोलिसम्म चल्ने वार्षिक साधारणसभाबाट नयाँ नेतृत्वको चयन गर्ने लायन्स क्लब अफ ३२५ एफका अध्यक्ष डा राजेन्द्र गिरीले जानकारी दिए ।