१२ चैत्र, काठमाडौं । नेपाली काँग्रेसका बरिष्ठ नेता डा शेखर कोईरालाले मुलुक अहिले बिरामी परेको अवस्थामा भएको बताएका छन् ।
बरिष्ठ नेता डा कोईरालाले आज संसदमा बोल्दै युवाहरु निरास भएको, कर तिर्नेहरु डराएको अवस्था श्रृजना हुनु मुलुकका लागि धेरै नै गलत भएको बताएका छन् ।
उनले मुलुकको मुख्य आय रिमिट्यान्स भएको बताउँदै उक्त रिमिट्यान्सले मुलुकको स्थायीत्व नहुने हुँदा त्यष्सको कुनै उपाय खाज्नुपर्ने बताएका छन ।
उक्त कार्यक्रममा बोल्दै बरिष्ठ नेता डा कोईरालाले भनेका छन् ‘‘मैले कर तिर्ने बर्ग निराश भएको पाएँ, यहीँ उद्यम गरेर टिक्न खोज्नेहरु हतास मनस्थितिमा रहनु हाम्रो राष्ट्र सिकिस्त बिरामी भएको अवस्था हो, सबैको ब्यापार घटेको छ । ब्यापार घटेपछि उद्योगको उत्पादन घट्नु सामान्य हो । ब्यापारिक शहर उजाड हुँदैछन् । भर्खरै प्राप्त जनगणना अनुसार काम गर्ने उमेरका एक तिहाइ नेपाली केही पनि आर्थिक उपार्जन गर्दैनन् । यो भन्दा भयावह परिस्थिति के हुन सक्ला ?’’
उनले मुलुक श्रृलंका र पाकिस्तानको बाटोमा जान लागेको भान हुन खोजेको बताउँदै त्यसबाट जोगाउँन मुलुकमा फजुल खर्च रोक्ने र सरकार प्रतिपक्षी दल मिलेर अगाडी बढ्नुपर्ने बताएका छन् ।
पछिल्ला समयमा देशमा संकट भएको भनि बिश्लेशण भईरहेका बेला काँग्रेस बरिष्ठ नेता डा कोईरालाले महत्वपूर्ण कुराहरु राखेका छन् ।
“अब हामी ढिलो नगरी जनअपेक्षाअनुरुप संसद्, सरकार र प्रतिपक्ष सबै एकै ठाउँमा उभिएर नागरिक चिन्तालाई सम्बोधन गर्न अगाडि बढ्नुको विकल्प छैन”, प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा बोल्दै उनले भने, “हाम्रा कमी कमजोरीले सङ्घीयता र प्रदेश संरचनाप्रतिको वितृष्णा दिनप्रतिदिन चुलिँदो छ । यो हाम्रो राजनीतिक प्रणालीको असफलताको पहिलो खुड्किलो हो ।”
उनले २०४८ सालमा ल्याएको सुधारको शृङ्खलालाई निरन्तरता दिन नसक्दा नै अहिले समस्या उत्पन्तन भएको धारणा राखे । उनले लोकतान्त्रिक राजनीतिक प्रणालीले विशिष्ट मूल्यपद्धति र नैतिक मूल्यको अपेक्षा गर्ने उल्लेख गर्दै राजनीतिक पद्धति जतिसुकै राम्रो भए पनि त्यसअनुरुप व्यवहार नभएको बताए । उनले देशमा अराजकताले मात्रै प्रश्रय पाउँदा राजनीतिक उपलब्धि पनि धरापमा पर्ने उल्लेख गरे ।
सरकारको सामु चुनौतीको चाङ भए पनि नागरिकलाई भरोसा र विश्वास लिएर अगाडि बढ्दा अवसरका अपार सम्भावना रहेको उहाँको भनाइ छ । उनले देशको सबल अर्थतन्त्रका लागि फजुल खर्च कटौती गर्दै राजनीतिक सहमति कायम गरी अघि बढ्न आग्रह गरे ।
नागरिकको विश्वास र संसद्को समर्थनबाट देशमा देखापरेको अर्थतन्त्रको सङ्कट सम्बोधन गरेर समृद्धिको यात्रा तय गर्न सकिने उनको धारणा छ । “यसका लागि प्रधानमन्त्रीले इच्छाशक्तिले मात्रै पुग्दैन”, उनले भने, “सम्पूर्ण मन्त्रिमण्डललाई नैतिकरुपमा तलमाथि गर्न नदिने प्रण गर्नुपर्छ ।”
समाजवाद भ्रष्टाचारको जगबाट नआउने भन्दै उनले समन्यायिक समाज बनाउन विचार, व्यवहार र दृष्टिकोण आवश्यक पर्ने बताए । “साझा सङ्कल्प र प्रयत्नबाट अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको विश्वास जित्न सकिन्छ, विश्वबाट लगानीको अवसर नेपाल भित्र्याएर बेरोजगारीलाई सम्बोधन गर्न आवश्यक छ”, उनले भने ।
सरकारी निकायले उद्योग–व्यवसायमाथि झन्झट थोपर्ने, दोहन गर्ने र हैरान पार्ने काम बन्द गर्नुपर्ने, उद्योग–वाणिज्य महासङ्घ, उद्योग परिसङ्घ, चेम्बर अफ कमर्श लगायतले लगानी र रोजगारी बढाउन ऐन, कानुन र प्रक्रियामा सुधारका लागि दिएका सुझावको निरपेक्ष अध्ययन गरेर आवश्यकता अनुसार सुधार गर्दै जानुपर्ने उनको भनाइ थियो ।
उनले जनतामा आशा र भरोसा नजगाइ लोकतन्त्रको संरक्षण गर्न पनि नसकिने बताउँदै सम्भव भएसम्म अब सर्वाङ्गीण आर्थिक सुधारका काम अगाडि बढाउन आग्रह गरे ।
लोकतान्त्रिक राजनीतिक प्रणालीलाई अक्सिजन दिएर बचाउने, बढाउने र जोगाउने काम आर्थिक विकासवाट मात्र सम्भव हुने उल्लेख गर्दै नेता कोइरालाले नेपालका प्रत्येक नागरिकको जीवनमा देखिने गरी आउने दिगो सुधारले मात्र यो सम्भव हुने धारणा व्यक्त गरे ।





