१६ चैत, काठमाडौं । नेपाली काँग्रेसले मिटरव्याज पीडितले आफ्नो समस्यालाई अघि सारेर जारी राखेको संघर्षप्रति नेपाली कांग्रेसको गम्भीर ध्यानाकर्षण भएको बताएको छ ।
काँग्रेसले आज कार्यसम्पादन बैठकपछि पीडित पक्ष र सरकारबीच शुरु भएको संवाद सकारात्मक भएको भन्दै पीडितको माग संबोधन गरेर शीघ्रतापूर्वक सार्थक निष्कर्षमा पु¥याउन र आम नागरिकको वित्तीय पहुँचलाई सहज बनाउनका लागि आवश्यक कानून निर्माणको प्रक्रिया थाल्न पनि सरकारलाई नेपाली कांग्रेस आग्रह गरेको छ ।
नेपाली कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय ललितपुरमा आज बसेका थियो । आजको बैठकमा महामन्त्री गगनकुमार थापाले निर्णयार्थ बैठकमा प्रस्तावहरु प्रस्तुत गरेका थिए ।
आजको बैठकले तनहुँ १ र चितवन २ मा गोबिन्द भट्टराई र जीत नारायण श्रेष्ठलाई काँग्रेसले उपनिर्बाचनमा उम्मेद्वार बनाउने निर्णयसमेत गरेको छ ।
बैठकमा सहमहामन्त्री भीष्मराज आङ्दम्वे, सदस्यहरु— विमलेन्द्र निधि, विजयकुमार गच्छदार, अर्जुननरसिंह केसी, सुनिलबहादुर थापा, डा. शेखर कोइराला, बलबहादुर केसी, जीपछिरिङ लामा, बैठकमा आमन्त्रित— गण्डकी प्रदेशका सभापति शुक्रराज शर्मा र मधेश प्रदेशका सभापति कृष्णप्रसाद यादवले आ–आफ्नो धारणा राखेको काँग्रेस पार्टीले जनाएको छ ।





