१७ चैत्र, काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहालले सरकार बिस्तारपछि सरकारले इतिहासमा नयाँ रेकर्ड बनाउने गरी काम गर्ने बताएका छन्।
शुक्रबार दिउँसो कोटेश्वरमा नेपाल राष्ट्रिय कर्मचारी संगठन निजामतीको राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै सो कुरा बताएका हुन्।
प्रधानमन्त्रीले भने, ‘आज मन्त्रिपरिषद बिस्तार भएपछि सरकारका कामले गति लिन्छ। यसपटक इतिहासमा गौरव गर्न सकिने केही काम गर्न खोज्दैछु। केही ठूला आयोजनाहरू र राष्ट्रले गौरव गर्ने निर्णयहरू गर्नेछु।’
सो अवसरमा प्रधानमन्त्रीले वामपन्थी विचार बोक्ने कर्मचारीहरू अरूभन्दा इमानदार, कर्तव्यनिष्ठ र कर्मठ हुनुपर्ने बताउँदै त्यसका लागि प्रतिस्पर्धा गर्न कर्मचारीहरूलाई आग्रह गरे।





