राजनीति

उपचुनावपछि मधेशमा कांग्रेस नेतृत्वमा सरकार !

२६ चैत, काठमाडौं । आगामी वैशाख १० मा हुने उपचुनाव पछि मधेश सरकारको नेतृत्व परिवर्तन हुने भएको छ ।
बारा २ को उपचुनावमा जसपाका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्नु अगाडि दलहरुका बीचमा प्रदेश सरकारको विषयमा समेत छलफल भएको थियो । नेताहरुका अनुसार उपचुनावपछि मधेश प्रदेशमा कांग्रेस नेतृत्वमा सरकार बनाउने सत्ता गठबन्धनमा रहेका दलहरुका बीचमा भद्र सहमति भएको छ ।
मधेस प्रदेशमा २३ सांसदसहित सबैभन्दा ठूलो दल एमाले छ । एमाले सरकारबाट बाहिरिइसकेको छ । नेकपा एमालेका चार मन्त्री र एक राज्यमन्त्रीले अघिल्लो मंगलरबार मुख्यमन्त्रीसमक्ष राजीनामा दिएका थिए । त्यो सँगै मधेश प्रदेशमा एमाले प्रतिपक्षी दल बनेको छ ।
केन्द्रमा गठबन्धन फेरिएको करिब डेढ महिनामा एमाले मधेश प्रदेश सरकारबाट हटेको हो । बारा २ मा उपचुनाव भिड्न लागेका जसपाका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवले प्रतिशोधस्वरुप एमालेका मन्त्री हटाएको बताइन्छ ।
प्रदेश सरकारबाट एमाले हटेपनि कांग्रेसले सरकारमा जानेबारे केही निर्णय लिएको छैन । कांग्रेस संसदीय दलका नेता कृष्ण यादव सरकारमा सहभागिताको विषयमा केन्द्रबाट केही निर्देशन नआएको बताउँछन् ।
जसपाका रामसहायप्रसाद यादवलाई उपराष्ट्रपति बनाउन र खाली भएको क्षेत्र बारा २ मा हुन लागेको उपनिर्वाचनमा उपेन्द्र यादवलाई उम्मेदवार बनाएर समर्थन गर्न कांग्रेसले मधेसका मुख्यमन्त्री लिने भद्र सहमति गरेको नेताहरुको दाबी छ ।
विगतमा १० दलीय गठबन्धनको एक घटक जनमतका अध्यक्ष सीके राउतले मुख्यमन्त्री नै दाबी गरेका थिए । तर, जसपा अध्यक्ष यादवले आफू संसद छिर्नका लागि मधेसका मुख्यमन्त्री कांग्रेसलाई दिने भद्र सम्झौता गरेको जनमतका नेताहरूको जिकिर छ ।
मधेश प्रदेशमा २२ सीटसहित कांग्रेस दोस्रो, १७ सीटसहित जसपा तेस्रो, १३ सीटसहित जनमत चौथो, ९ सीटसहित लोसपा पाँचौ, ८ सीटसहित माओवादी केन्द्र छैटौं र ७ सीट रहेको नेकपा एस सातौं दल छन् । ४ जना स्वतन्त्र सांसद छन् भने राप्रपा, नेपाल संघीय समाजवादी र नागरिक उन्मुक्ति पार्टीको एक÷एक सीट छ ।