राजनीति

सञ्चारमाध्यममार्फत सार्वजनिक भएलगत्तै आफूले ७२ घण्टाभित्र कारबाही गर्छुः सभापति लामिछाने

३ बैशाख, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले सुशासन र समृद्धि मूल लक्ष्यसहित पार्टीको स्थापना भएको बताएका छन् । तनहुँको दमौली बजारमा आज आयोजित चुनावी सभामा सभापति लामिछानेले सुशासन र समृद्धि मुख्य प्राथमिकता रहेको उल्लेख गरे ।

“देश बनाउने सङ्कल्प बोकेर अगाडि बढेका छौँ, यो मुद्दामा सबै राजनीतिक दलबीच सहमति आवश्यक छ,” उनले भने । सभापति लामिछानेले योग्य र सक्षम मानिस ल्याएर देशलाई समृद्ध बनाएरै छाड्ने दाबी गरे । 

देशको भ्रष्टाचारका सूचक हेर्ने हो भने भ्रष्टाचारलाई जीवनशैली मान्न थालिएको उल्लेख गर्दै उनले भने, “मुलुकमा भ्रष्टाचारको सफाइ आवश्यक छ । भ्रष्टाचार रोग बनिसकेको छ, यसले नेपाललाई धराशयी बनाउँछ । यसको विरुद्धमा उभिनैपर्छ भनेर यसको विरुद्धमा उभिएका छौँ ।” 

सभापति लामिछानेले आफूहरु गालीगलौजको राजनीति नगर्ने बताउँदै निर्वाचनका बेला रास्वपामाथि अनेक किसिमका आरोप लगाइएको बताए । पैसाको बार्गेनिङ गरेको आरोपमा प्रतिनिधिसभा सदस्यलाई कारबाही गरेर इमान हुनुपर्छ भन्ने सन्देश दिएको उनको भनाइ थियो । मन्त्री बन्न पैसाको बार्गेनिङ गरेको सञ्चारमाध्यममार्फत सार्वजनिक भएलगत्तै आफूले ७२ घण्टाभित्र कारबाही गर्छु भनेरे बोलेका कुरा पूरा गरेको लामिछानेले बताए ।

तनहुँ क्षेत्र नं १ का प्रतिनिधिसभा सदस्य उम्मेदवार डा स्वर्णिम वाग्लेले राजनीति सङ्ल्याउने र अर्थतन्त्र उकास्ने मूल कार्यसूची लिएर चुनावी मैदानमा उत्रिएको बताए । डा वाग्लेले जिल्लामा विकासका आयोजनाको काम सुरु भए पनि अलपत्र अवस्थामा रहेकाले त्यसलाई पूर्णता दिने प्रतिबद्धता जनाए । 

राष्ट्रिय स्वतन्त्र पार्टीका महामन्त्री डा मुकुल ढकालले देशलाई समृद्धि बनाउने अभियानसहित रास्वपाको उदय भएको बताए । काठमाडौँ–८ का प्रतिनिधिसभा सदस्य विराजभक्त श्रेष्ठले निर्वाचनका बेला जनता लोभमा प्रभावित हुन नहुने बताए । 

काठमाडौँ–६ का प्रतिनिधिसभा सदस्य एवं पूर्वमन्त्री शिशिर खनालले विदेशमा पढेर आएकाहरु राजनीतिमा आउनहुन्न भन्ने गलत भ्रम फैलाइएको बताए । काठमाडौँ–२ का प्रतिनिधिसभा सदस्य सोविता गौतमले राष्ट्रिय स्वतन्त्र पार्टी जनताको भरोसाको पार्टीका रुपमा विकास भएको बताए । 

राष्ट्रिय स्वतन्त्र पार्टीका केन्द्रीय सदस्य रमेश प्रसाइँले विश्वले चिनेको स्वर्णिम वाग्लेलाई आज संसद्ले खोजेको बताए ।