राजनीति

काँग्रेस बरिष्ठ नेता डा कोइरालाको आग्रहः बिपीको विचारलाई अँगालेर हिँडौँ

५ बैसाख, काठमाडौं । नेपाली कांग्रेसका बरिष्ठ नेता डा शेखर कोइरालाले नेपाली कांग्रेस बिपी कोइरालाले प्रतिपादन गरेको विचारलाई अँगालेर हिँड्नुपर्नेमा जोड दिएका छन् ।

नेपाली कांग्रेस गण्डकी प्रदेशद्वारा आज पोखरामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै नेता कोइरालाले पार्टीभित्र व्यक्तिवादी चरित्र हावी हुँदा विचारको राजनीति कमजोर बन्दै गएकोप्रति चिन्ता व्यक्त गरे । 

बिपीद्वारा प्रतिपादित राष्ट्रियता, प्रजातन्त्र र समाजवादको बाटोलाई नेपाली कांग्रेसले छाड्न नहुने उनको भनाइ थियो । “विचार विनाको राजनीतिबाट कुनै गन्तव्यमा पुग्न सकिँदैन”, उनले भने, “पार्टीको आउँदो १५औँ महाधिवेशनबाट नेपाली कांग्रेसलाई भ्रष्टाचारमुक्त पार्टी, जनताप्रति उत्तरदायी र जवाफदेही पार्टीका रूपमा विकास गर्नुपर्छ ।”

नेपाली कांग्रेस प्रजातन्त्रप्रति विश्वास राख्ने पार्टी हो भन्दै नेता कोइरालाले कांग्रेस प्रेस स्वतन्त्रता, स्वतन्त्र न्यायलय, मानव अधिकार, व्यक्ति स्वतन्त्रता प्रति सधैँ प्रतिबद्ध रहेको यी कुरामा कसैसँग सम्झौता नगर्ने स्पष्ट गरे । उनले भने, “नेपाली कांग्रेसको विचारलाई गाउँगाउँसम्म पु¥याएर आम युवा तथा महिलालाई नेपाली कांग्रेसप्रति आकर्षित गर्न जरुरी छ ।”

तनहुँको उपनिर्वाचनको प्रचारप्रसारमा पुगेर फकिएको डा कोइरालाले तनहुँमा नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले निर्वाचन जित्ने दाबी  गरे। राष्ट्रिय स्वतन्त्र पार्टीबाट तनहुँमा उम्मेदवार बनेका डा स्वर्णिम वाग्लेलाई आफूले यसअघि चितवनबाट उपनिर्वाचन लड्न आग्रह गरेको तर उनी चितवनमा निर्वाचन लड्न नगएको नेता कोइरालाले बताए। 

नेपाली कांग्रेसका केन्द्रीय सदस्य सञ्जय गौतमले नेपाली कांग्रेसले वर्तमान अवस्थाको फाइदा लिँदै पार्टी र सङ्गठन विस्तारमा जुट्न सुझाव दिए । सरकारमा रहेको बेला पार्टी विस्तारमा जति सजिलो हुन्छ नहुँदा कठिन भएकाले कांग्रेसले युवालाई समेट्दै पार्टीलाई नयाँ सिराबाट अगाडि बढाउन जरुरी भएको बताए । पार्टीभित्र विचारभन्दा पनि व्यक्तिवादी स्वार्थ हावी हुँदा पार्टी कमजोर भएको बताउँदै नेता गौतमले पार्टीको १५औँ महाधिवेशनबाट वैचारिक रूपमा अगाडि बढाउन सुझाव दिए । 

नेपाली कांग्रेस गण्डकी प्रदेशका सभापति शुक्रराज शर्माले भोलिका पुस्ताका लागि कांग्रेसले सोच्न जरुरी भएको बताए । युवाको भविष्य निर्धारण गर्ने जिम्मेवारी नेपाली कांग्रेसको काँधमा आएको बताउँदै नेता शर्माले अब कांग्रेसले परिणाम दिने गरी काम गर्नुपर्नेमा जोड दिए ।