समाचार

‘नीति तथा कार्यक्रमले जनतामा आशा जगाएको छ’

७ जेठ, काठमाडौं । सरकारले प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०र८१ नीति तथा कार्यक्रममा समेटिएका विषयले जनतामा आशा जगाएको सत्तापक्षका सांसदहरुले बताएका छन् । साथै प्रतिपक्षी दलका सांसदले भने नीति तथा कार्यक्रममा नयाँ केही नभेटिएको टिप्पणी गरेका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा यही जेठ ५ सङ्घीय संसद्मा प्रस्तुत भएको आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममाथि भइरहेको छलफलमा सांसदहरुले समर्थन र विरोधमा धारणा राखेका हुन् ।

सत्तारुढ नेपाली कांग्रेस र नेकपा (माओवादी केन्द्र) का सांसदले नीति तथा कार्यक्रमले सबै विषयलाई सन्तुलित ढङ्गले समेटेको बताइरहँदा प्रमुख प्रतिपक्षी दल नेकपा (एमाले) का सांसदहरुले नीति तथा कार्यक्रममा नयाँ कुरा नभएको भन्दै परम्परागत ढङ्गका कार्यक्रम मात्रै राखिएको बताएका छन् ।

साथै उनीहरुले नीति तथा कार्यक्रममा समेटिएका विषयको प्रभावकारी कार्यान्वयन तथा छुटेका विषयलाई बजेटमा समावेश गर्न पनि सुझाव दिएका छन् । अर्थतन्त्रको संरचनागत सुधार, गुणस्तरीय पूर्वाधार, रोजगारी सिर्जना र उत्पादकत्व वृद्धि गर्नेजस्ता कार्यक्रम राम्रा भएको उनीहरुको भनाइ थियो ।

नेपाली कांग्रेसका सांसद जीतेन्द्रनारायण देवले आगामी आर्थिक वर्षका लागि सरकारले प्रस्तुत गरेको नीति र कार्यक्रम निकै मेहनतका साथ आएको भन्दै समर्थन जनाए । उनले आर्थिक समस्याको पहिचान र समस्या समाधानको पहल, कूटनीतिक सम्बन्ध सुधारका साथै सुशासन प्रवद्र्धन र भ्रष्टाचार नियन्त्रण गर्ने गरी नीति कार्यक्रममा राम्रा विषय समेटिएको उल्लेख गरे ।

‘फूलको आँखामा फुलै संसार, काँडाको आँखामा काँडै सन्सार’ भनेजस्तै यो नीति तथा कार्यक्रमलाई कुन आँखाले हेर्ने त्यसैअनुरुपको भन्दै सांसद देवले यो कार्यक्रमलाई फूलको आँखाबाट हेर्न र यसको कार्यान्वयनका लागि सबैको सक्रिय सहयोग चाहिने खाँचो औँल्याए ।

उनले नीति तथा कार्यक्रममा कृषि, पर्यटन क्षेत्रको विकासका लागि ल्याइएको कार्यक्रम सकारात्मक रहेको भन्दै उत्पादनमूलक अर्थतन्त्रको विकासमा जोड दिइएकाले मुलुकको समृद्धिमा टेवा पुग्नेमा विश्वास व्यक्त गरे।

देशभित्रका प्रमुख उत्पादनको समर्थन मूल्य तोक्ने, मलखादको व्यवस्था, बहुवर्षीय योजनाका आधारमा देशभित्रै मल कारखाना खोल्नेजस्ता महत्वपूर्ण विषय समेटिएकाले नीति तथा कार्यक्रमले किसानलाई उत्साहित बनाएको उहाँको सांसद देवको भनाइ थियो ।

नेकपा (एकीकृत समाजवादी) का खिमलाल देवकोटाले समग्रमा सरकारको नीति तथा कार्यक्रम राम्रो रहेको र यसको व्यावहारिक कार्यान्वयमा जोड दिनुपर्ने औँल्याए । उनले भने, “अघिल्ला माननीयले भनेजस्तै सरकारको नीति तथा कार्यक्रम ‘फूलको आँखामा फुलै संसार’ जस्तो छ । यसलाई बजेटमा अझ समृद्ध बनाएर कार्यान्वयनमा लैजानसके मुलुकको आर्थिक समृद्धिमा टेवा पुग्नेछ ।”

निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माण गर्ने घोषणा गरिनु सकारात्मक रहे पनि विगतका सरकारले पनि हरेक वर्ष यो विमानस्थल बनाउने प्रतिबद्धता जनाए पनि कार्यान्वयन नभएको सन्र्दभमा यो वर्ष कार्यान्वयन हुनुपर्नेमा उनले जोड दिए ।

सांसद नारायणप्रसाद दाहालले पनि सरकारको नीति तथा कार्यक्रमले जनतामा नयाँ आशा जगाएको बताए । उनले सोहीअनुसार बजेट आए ऊर्जा थपिनेछ बताउनुभयो । सांसद दाहालले अर्थतन्त्रका सम्भावित सङ्कटलाई सुधार गरेर लैजाने कार्यमा सबैको सक्रियता चाहिने बताए । 

नेकपा (माओवादी केन्द्र) का गोपीबहादुर सार्की अछामीले नीति तथा कार्यक्रम राम्रो र वस्तुनिष्ट ढङ्गले आएको भन्दै समर्थन जनाए। 

उनले चुनौतीपूर्ण अवस्थामा रहेको राष्ट्रिय अर्थतन्त्रलाई सुधारेर लैजाने, रोजगारी सिर्जना गर्ने र कृषिलाई प्राथमिकता दिएर आएको कार्यक्रम निकै प्रशंसनीय रहेको उल्लेख गरे ।  सरकारले भ्रष्टाचार नियन्त्रण, सुशासन र सामाजिक न्यायका क्षेत्रमा उल्लेखनीय काम गरिरहेकाले जनतामा आशा जगाएको उनले बताए ।

माओवादी केन्द्रकै महेशकुमार महराले नीति तथा कार्यक्रम व्यावहारिक र वस्तुवादी रहेकाले प्रभावकारी कार्यान्वयनका लागि सरकारले ध्यान दिनुपर्ने खाँचो औँल्याए । 

नेकपा (एमाले)का सांसद देवेन्द्र दाहालले नीति तथा कार्यक्रममा नयाँपन नभेटिएको र पुरानै कार्यक्रमको निरन्तरता भएको बताए । उनले समावेश गरिएका कतिपय विषयवस्तु सस्तो लोकप्रिय कमाउने किसिमका रहेको टिप्पणी गरे । समस्या पहिचान, प्राथमिकता र गन्तव्यलाई नीति तथा कार्यक्रमले प्रष्टरुपमा समेट्न नसकेको उनले बताए ।

एमालेकै शारदादेवी भट्टले परम्परागत ढङ्गले आएको नीति तथा कार्यक्रमले प्रभावकारी कार्यक्रम समेट्न नसकेको बताए । उनले आर्थिक सङ्कटलाई सम्बोधन गर्नेगरी कार्यक्रम आउन नसकेको उल्लेख गरे ।

नेकपा (एकीकृत समाजवादी) का राजेन्द्रलक्ष्मी गैरेले दिगो विकासका लक्ष्य हासिल गर्नेगरी नीति तथा कार्यक्रममा समेटिएको बताए । बालसंरक्षण, बालविवाह रोक्ने, शिशु, मातृमृत्युदर घटाउनेजस्ता राम्रा कार्यक्रम समेटिएकाले यसको व्यावहारिक कार्यान्वयन हुनुपर्नेमा उनको जोड थियो ।

नेपाली कांग्रेसका नारायणदत्त मिश्रले समग्रमा सरकारको नीति तथा कार्यक्रम राम्रो रहेको र यसको व्यावहारिक कार्यान्वयन कसरी हुन्छ भनी प्रश्न गरे । एकीकृत समाजवादीका उदयबहादुर बोहोराले नीति तथा कार्यक्रममा समेटिएका कतिपय नयाँ कार्यक्रमले मुलुकको अर्थतन्त्रलाई टेवा पुग्ने विश्वास व्यक्त गरे । उनले सरकारी खर्चमा मितव्ययिता र विकास खर्चको वृद्धि नीति तथा कार्यक्रमको उत्कृष्ट विषय भएको बताए ।

माओवादी केन्द्रका भूवनबहादुर सुनारले नीति तथा कार्यक्रममा नयाँ र लोकप्रिय कार्यक्रम समावेश हुनु निकै सकारात्मक भएको बताए । एमालेका गोपाल भट्टराईले नीति तथा कार्यक्रमको गन्तव्य नभेटिएको तथा अघिल्लो वर्षको कार्यक्रमको समीक्षा हुन जरुरी रहेको बताए ।

माओवादी केन्द्रका राधेश्याम पासवानले राम्रा विषय समेटिएको नीति तथा कार्यक्रमलाई बजेटमा पनि प्राथमिकता दिएर कार्यान्वयन गरिनुपर्ने खाँचो औँल्याए ।

तीन सांसदको संशोधन प्रस्ताव

सरकारले सङ्घीय संसद्मा प्रस्तुत गरेको आगामी आर्थिक वर्ष २०८०र८१ को नीति तथा कार्यक्रममाथि राष्ट्रियसभाका तीन सांसदले संशोधन प्रस्ताव दर्ता गराएका छन् ।

राष्ट्रियसभाको आजको बैठकमा राष्ट्रपतिबाट यही जेठ ५ गते सङ्घीय संसद्को दुवै सदनको संयुक्त बैठकमा गर्नुभएको सरकारको नीति तथा कार्यक्रममा नेकपा (एमाले) का सांसद तुलसाकुमारी दाहाल, विमला घिमिरे र डा विमला राई पौड्यालकोतर्फबाट सांसद भगवती न्यौपानेले संशोधन प्रस्ताव प्रस्तुत गरेकी छन्।