१० जेठ, मनहरी । दोस्रो बागमती प्रदेश स्तरीय खेलकुद प्रतियोगिताअन्तर्गत पाँच हजार मिटर दौडमा सिन्धुपाल्चोकका मिङ्मार सिंह र निनु तामाङले स्वर्ण पदक जितेका छन् । मङ्गलबार भएको खेलमा मिङ्मार पुरुषतर्फ तथा निनु महिलातर्फ स्पर्धामा पहिलो भएका हुन् ।
मिङ्मारले निर्धारित दूरी १८ मिनेटमा नौ सेकेन्डमा पूरा गरे । सोही स्पर्धामा काठमाडौँका धर्म महर्जन र सिन्धुपाल्चोकका विश्वराम कुँवरले क्रमशः रजत र कास्य पदक प्राप्त गरे । महिलातर्फ निनुले निर्धारित दूरी २१ मिनेट आठ सेकेन्डमा पूरा गरिन् । सो स्पर्धामा दोलखाकी सोनु घोतानेले रजत र भक्तपुरकी रोस्टिना सितिखाले कास्य पदक प्राप्त गरिन् ।
यसैगरी एथलेटिक्स दुई सय मिटर दौड पुरुषतर्फ मकवानपुरका जिकेश सापकोटा तथा महिदलातर्फ मकवानपुरकै दिना गोपालीले स्वर्ण पदक जिते । हेटौंडा स्थित पिप्ले क्याम्पा रंगशालामा भएकोे प्रतिस्पर्धामा मकवानपुरका स्प्रिन्टरद्वय दिनाले महिलामा र जिकेशले पुरुषमा स्वर्ण जितेका हुन । दिनाले २९.३७ सेकेन्ड र जिकेशले २४.६० सेकेन्ड समय लगाएर पदक जितेका हुन् । महिलामा भक्तपुरकी स्वागता खाइतु र चितवनकी रोजिता गुरुङले क्रमशः रजत र कांस्य पदक प्राप्त गरे । पुरुषतर्फ भने मकवानपुरकै सुजन राई र चितवनका शेखर उप्रेतीले कांस्य पदक जिते ।
महिला आठसय मिटर दौडमा ललितपुरकी रजिना दुलालले सफलता प्राप्त गरिन । उनले दुई मिनेट ४० सेकेन्डमा दौड पूरा गरिन । यसै विधामा नुवाकोटकी आस्था राईले रजत र रामेछापकी भगवती खड्काले कांस्य पदक जितेकाछन् । पुरुषतर्फ चितवनका अृमत बोटले जित्न सफल भए । उनले यो दूरी दुई मिनेट ८ सेकेन्डमा पूरा गरेका थिए । सिन्धुपाल्चोकका टीकाराम लोप्चन रजत र नुवाकोटका दिनेश राई कांस्य पदक जित्न सफल भएका ।