राजनीति

सरकारले सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्छ: नेता पौडेल

१५ जेठ, काठमाडौं । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले सरकारले सार्वजनिक जग्गाको संरक्षण गर्नुपर्ने बताएका छन्।

गणतन्त्र दिवसका अवसरमा आज काठमाडौँ क्षेत्र नं ५ भत्केको पुलमा आयोजित सार्वजनिक जग्गामा वृक्षरोपण कार्यक्रममा बोल्दै सोही क्षेत्रका सांसद पौडेलले सार्वजनिक जग्गाको संरक्षणमा सरकार लाग्नुपर्ने बताए ।

“सरकारले सार्वजनिक जग्गाको संरक्षण कसरी गर्ने भन्ने बारेमा स्पष्ट नीति ल्याउनुपर्छ, काठमाडौँको महङ्गो जग्गा व्यक्तिले अतिक्रमण गर्ने स्थितिको अन्त्य हुनुपर्छ”, उनले भने । काठमाडौँ क्षेत्र नं ५ मा सार्वजनिक जग्गा खोजेर ती जग्गाको संरक्षणका लागि आफू लाग्ने उनको भनाइ थियो ।

उनले निर्मल लामा प्रतिष्ठानका नाममा सार्वजनिक जग्गामा व्यापारिक केन्द्र बनाउन नहुने बताए । सांसद पौडेलले सार्वजनिक जग्गा स्थानीय जनताको हितमा प्रयोग गर्नुपर्ने उल्लेख गरे । उनले सरकारले नजिकका समूहको स्वार्थ पूरा गर्नका लागि सार्वजनिक जग्गा भाडामा दिए आफू विरोधमा उत्रनेसमेत बताए ।