राजनीति

उत्पादन मूलक उद्योगलाई दिदै आएको सहुलियतलाई निरन्तरता दिऔंः दीपक गिरी

२८ जेठ, काठमडौं । सरकारले एक दिनको कारोबार पुरै ठप्प हुनेगरी बजेट ल्याउने गरेको भन्दै सांसद दीपक गिरीले बिहान १० बजे बजेट प्रस्तुत गर्न माग गरेको छन् । सरकारले ल्याएको आर्थिक वर्ष २०८०/८१ को बजेट माथि टिप्पणी गर्दै गिरीले पुरै एक दिन कारोबार बन्द गरेर अर्थतन्त्रमा क्षती पुर्याउन नहुने बताए ।

‘वार्षिक २० खर्बको अन्तर्राष्ट्रिय ब्यापार गर्ने देशले एक दिन कारोबार रोक्दा कति रकम गुमाइरहेको होला अनुमान गरौं । म सबै सरकार पक्ष र प्रतिपक्ष दलका माननियहरुलाई यस विषयमा विचार गर्न आग्रह गर्दछु । र, आगामी वर्षदेखि कारोबर नरोकी बिहानै बजेट ल्याउने प्रथाको सुरुवात गरौं’, गिरीले भने ।

उनले भने, ‘भारतमा बेलुका ४ बजे बजेट आउँथ्यो, अहिले भारतले पनि सुधारेर बिहान ल्याउन थाल्यो । पहिला अंग्रेजको शासनकालमा ब्रेटेनमा भारतको बजेट निकै महत्वका साथ सुनिने हुँदा बेलुका ४ वजे ल्याउने गरिएको रहेछ । त्यसैलोई हामीले अनुसरण गरेका थियौं । अहिले भारतले सच्यायो हामी बिरालो बाँधेर श्राद्ध गर्ने परिपाटीमै छौं ।’

त्यसैगरी पहुँचवालाको क्षेत्रमा गएको बजेटले सारा नेपालीलाई गिज्याइ रहेको उनले टिप्पणी गरे । देशको आवश्यकता बुझेर बजेट ल्याउनु पर्नेमा सिमित ब्यक्तिको निर्वाक्षेत्र केन्द्रीत भएर ल्याएकोमा उनले रोष प्रकट गरे ।

‘आफ्नो मन्तब्यमा विश्वका सम्पन्न र विकशित देशदेखि विकासोन्मुख देशसम्म बजेटको चर्चा धेरै हुन्छ । संसदमा सांसदहरुले आफ्नो बिचार राख्छन् । त्यसलाई परिवर्तन गर्ने वा नगर्ने विषय सरकारमा भर पर्छ । तर, हामीकहाँ के परिवर्तन गर्नु पर्छ र गर्नु हुँदैन भन्ने विषयमा छलफल भएपनि देखिनेगरी परिवर्तन भएको इतिहास छैन’ उनले बताए ।

‘अहिले नेपाली अर्थतन्त्र सिथिल बनेको छ । अर्थतन्त्रलाई जनाउने सूचकहरु बलिया देखिएका छन् । रेमिट्यान्स बढेको छ । सोधानान्तर बचत राम्रो भएको छ । बैदेशीक ब्यापार ठिकठाक छ । सेवा क्षेत्रको विस्तार हुँदैछ । सबैभन्दा ठूलो समस्या रहेको डलर संचिति करिब १५ अर्ब पुग्न लागेको छ । यसका बाबजुद बजार चलायमान नहुँनुको कारण के होला ? यसलाई खोज्नु पर्ने काम हामी सबैको होइन । यो समस्या ठिक गर्न के गर्ने भन्ने विषयले बजेटमा प्राथमिकता पाउनु पर्ने थियो । त्यो भएन ।’ उनले भने ।

उनले भने, ‘अहिलेको युगमा देशको स्वाभिमान र शक्ति अर्थतन्त्रसँग जोडिएको हुन्छ । अर्थतन्त्र सुधार गर्न सबै मिलेर राष्ट्रिय सहमतिको प्रयास गरौं ।’

साँसद गिरीले भने, ‘विगतका ४–५ वर्षदेखि बजेटको ७५ प्रतिशतभन्दा बढी खर्च गर्न नसकेको सरकारले बढाउँदै लगेको बजेटको आकारमा अहिलेको सरकारले खर्च गर्ने वतावरण बनाउन नीतिगत ब्यवस्था गर्दै कार्यविधि साउन मसान्तसम्ममा तयार गर्ने प्रतिवद्धता जनाएको छ । यसलाई पछिल्लो दशककै बजेट प्रति अर्थमन्त्रीको अठोटको रुपमा मैले बुझेको छु । त्यसको लागि अर्थमन्त्रीलाई धन्यवाद दिन चाहन्छु ।’

उनले जोड दिए, ‘कृषि, शिक्षा र उद्योगलाई प्राथमिकतामा राखेर बजेट ल्याउनु सकारात्मक छ । पर्यटनमा जोड, पूर्वाधारमा नयाँ योजना नथपि पुरानै योजनाको पूर्णतामा केन्द्रित हुनु, किसानसँग जोडिएका विषयको सम्बोधन, उद्योगमैत्री प्रक्रिया, ऊर्जा विकासमा जोड, स्टार्टअपलाई प्राथमिकतो विषय बजेटको सकारात्मक विषय हुन् । यसलाई सहि तरिकाले कार्यान्वयनमा लाने हो भने परिणाम राम्रो आउने छ ।’

उनले भने, ‘बजेटले केही विषय पर्खर हेर गर्नु पर्ने थियो । त्यसमा हतार मै अर्थमन्त्रीले कैची चलाउनु भयो जस्तो लाग्छ । उद्योगहरुलाई रोजगारीको आधारमा दिइएको अनुदान कटौती गरिएको छ । सकिन्छ भने उत्पादन मूलक उद्योगलाई दिदै आएको सहुलियतलाई निरन्तरता दिऔं ।’