मनोरञ्जन

अनलाइन बेटिङ प्लेटफमको प्रचारप्रसार गरेको आरोपमा आठ जना कलाकार तथा युटुबर पक्राउ

३२ जेठ, काठमाडौँ । अनलाइन बेटिङ प्लेटफमको प्रचारप्रसार गरेको आरोपमा आठ जना कलाकार तथा युटुबरलाई पक्राउ गरेको छ । अनलाइन बटिङ प्लेटफमको प्रचारप्रसार गरेकाले उनीहरुलाई बुधबार पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रहरी नायव उपरीक्षक (डीएसपी) लीलाराज डाँगीले जानकारी दिएका छन् ।

उनका अनुसार पक्राउ पर्नेमा कलाकार मरिचमान श्रेष्ठ (बल्छी धुर्वे), राजु पौडेल (राजु मास्टर ), पवन खतिवडा, एलिश राई, ज्वलन घर्तीमगर, गणेश देवकोटा, सरोज घिमिरे र वेगम नेपाली रहेका छन् । पछिल्लो समय सामाजिक सञ्जालमा बेटिङ तथा क्यासिनो गेमिङ एपहरूको प्रचार तीव्र रूपमा हुन थालेपछि प्रहरीले त्यस्तो कार्यमा संलग्न व्यक्तिमाथि कारबाहीको तयारी थालेको हो ।

नेपालको मुलुकी अपराध संहिता २०७४ को धारा १२५ मा जुवा खेल्न वा सट्टाबाजी गर्नु नहुने व्यवस्था छ । धारा १२५ को (२) को उपदफा (१)को (क)मा पहिलो पटक जुवा खेल्ने वा खेलाउनेलाई तीन महिनासम्म कैद वा ३० हजार रुपैयाँसम्म जरिवाना र उपदफा (ख)मा दोस्रो पटकदेखि जुवा खेल्ने वा खेलाउनेलाई एक वर्षसम्म कैद र ५० हजार रुपैयाँसम्म जरिवाना र त्यसपछिको कसूरमा पटकैपिच्छे थप तीन महिनासम्म कैद र १० हजार रुपैयाँसम्म जरिवाना हुने व्यवस्था छ ।

सरकारले नेपालमा अनलाइन सट्टेबाजी गराउने वनएक्स बेटलगायत वेबसाइटमाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । तर पनि अनलाइनमार्फत सट्टेबाजी गर्ने प्रवृत्ति अझै जारीरहिरहेको छ ।