३२ जेठ, गलेश्वर । चर्को खरेडीले म्याग्दीको मालिका, मङ्गला र बेनी नगरपालिकालगायत दर्जन बढी गाउँमा पानीका मुहान सुक्न थालेका छन् । यहाँका स्थानीय हिजोआज एक गाग्री पानीका लागि एक घन्टा समय खर्चेर वा नजिकको खोलाको पानी छानेर वा उमालेर खानुपर्ने बाध्यतामा छन् ।
पहिले पहिले पानीको छेलोखेलो हुने गाउँका टोलटोलमा अहिले खानेपानीका धारा त छन् तर धारामा प्रायः पानी खस्दैन । लगातारको खडेरी, जलवायु परिवर्तन, वनजङ्गल विनाश र मानवीय क्रियाकलापका कारण गाउँका कुवा, पोखरी, इनार, खोला नदीको पानी घट्दै गएको छ । कतिपय खोला र मूलमा पानी सुकेर सुख्खा बनेका छन् ।
पानीका मुहान सुक्न थालेपछि जिल्लामा खानेपानीको समस्या बढ्दै गएको छ । खानेपानीको पर्याप्त सुविधा नभएका यहाँका विभिन्न क्षेत्रका दर्जनौँ बस्तीमा कुवा, पँधेरो र पोखरीबाट पानी उपभोग गरिन्छ । वर्षौँदेखि खानेपानी उपभोगका लागि समस्या नभएका स्थानीयमा अहिले पानीका मुहान सुक्न थालेपछि पानीको समस्या चर्कंदै गएको बताउँछन् ।
म्याग्दीको मालिका गाउँपालिका–५ देविस्थानका ७४ वर्षीय डम्मरबहादुर सिउथानी मगर दुई दशकअघिसम्म गाउँको जरुवामा रहेको कुवाबाट पानी पिएको, नुहाएको, लुगा धोएको अनि त्यही कुवाको पानीले घर बनाएको झल्झली सम्झन्छ ।
सोही गाउँपालिका वडा नं ३ रुमका ७६ वर्षीय बलबहादुर विकलाई पनि घरको सिरानमा रहेको पाखो र डहरे खोलाको छेउमा रहेका दुई वटा पोखरीमा भैँसी आहाल बसालेको, पोखरीको पानी कुलाएर रोपाइँ गरेको याद छ । उहाँका अनुसार आजभोलि शिरानको पाखोमा न पानीको कुवा छ न त डहरेखोलामा पोखरी नै छन् ।
वर्षात्मा खानेपानीको समस्या खासै नहुने भए पनि सुक्खा मौसममा खानेपानीका मुहान सुक्न थालेकाले यहाँका स्थानीय काकाकुल बन्ने अवस्थामा पुगेका बेनी नगरपालिका–३ तोराखेतका डिलबहादुर सापकोटाले बताए। “लामो खडेरी र चर्को गर्मीका कारण पानीका मुहान सुक्दै गएका छन् । अबको चार महिना खानेपानीको हामीलाई निकै सकस हुन्छ”, उनले भने।
बेनपा–६ थाकन पोखरी, मङ्गला गाउँपालिका–१ कुहूँ, बेनपा–१ अर्जमलगायत दर्जनौँ गाउँमा खानेपानीका मुहान सुक्दै गएपछि स्थानीयले खानेपानीको समस्या झेल्दै आएका छन् । पानीका लागि स्थानीय घन्टौँ टाढाका पानीका मुहान धाउन थालेका छन् । जिल्लाको बेनी नगरपालिकासहित पाँच वटै गाउँपालिकाका विभिन्न बस्तीमा खानेपानीको अभाव भएपछि स्थानीय समस्यामा परेका हुन् ।
केही वर्षयता वातावरणीय प्रदूषण र प्राकृतिक विपत्तिका कारण यहाँको भूगोलमा अप्राकृतिक समस्या देखिन थालेको वन तथा वातावरण क्षेत्रका जानकारहरुले बताउँदै आएका छन् । खासगरी विसं २०७२ सालको भूकम्पयता म्याग्दीको लेकाली क्षेत्रमा समस्या देखिन थालेको वन तथा वातावरण क्षेत्रका अगुवा टीकाबहादुर पुनले बताए। “भूकम्पका साथै दुई वर्ष अघिको बाढीपहिरो र खडेरीले पानीका मूल सुक्दै गएपछि यहाँ समस्या उत्पन्न भएको छ । मूलहरु पुरिँदै गएका छन्, नयाँ स्रोत देखिएका छैनन्”, उनले भने।
कालीगण्डकी, म्याग्दी नदी र रघुगङ्गाका जलाधार क्षेत्रमा मात्रै होइन, जिल्लाका अन्य ओसिला ठाउँमा रहेका सयौँ पानीका मुहान सुकिसकेका स्थानीय तहका जनप्रतिनिधिले बताएका छन् । खानेपानीका मुहान सुक्नुमा जलवायु परिवर्तन मात्र नभइ, मानवीय क्रियाकलाप बढी जिम्मेवार देखिएको वातावरण संरक्षणकर्मीको भनाइ छ । उनीहरुका अनुसार वनजङ्गल विनाश र अनियन्त्रित विकास निर्माणले पानीका मुहानमा प्रतिकूल असर पारेको छ । डोजरले सडक काट्दा जिल्लाका कतिपय ठाउँमा पानीका मुहान हराउन थालेका वातावरण संरक्षणकर्मी बताउँछन् ।
“सडक खन्ने नाममा प्राविधिक रिपोट र वातावरणीय प्रभाव मूल्याङ्कन नगरी जथाभावी सडक खन्दा पानीका मुहान हराउन थालेका हुन्”, थानीय डिलबहादुर सापकोटाले भने। यही गतिमा विकासका नाममा अनियन्त्रित रुपमा सडक खन्दा केही वर्षमा भूक्षयको समेत जोखिम बढ्ने उनले बताए। उनका अनुसार विकासका नाममा मेसिनले सडक खन्दा पानीका मुहान सुक्नुका साथै मजदुरी गरेर गुजारा गर्दै आएका सर्वसाधारण मर्कामा परेका छन् ।