राजनीति

कांग्रेसद्वारा पार्टीबाट निर्वाचित स्थानीय पदाधिकारी प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षलाई निर्देशन

४ असार, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय कार्यालयमा आयोजित ‘स्थानीय तहको बजेट तथा कार्यक्रमको प्राथमिकता’ सन्दर्भमा पार्टीबाट निर्वाचित स्थानीय तहका प्रमुख र उपप्रमुख तथा अध्यक्ष र उपाध्यक्षसँग जुम बैठकमार्फत मार्गनिर्देशन कार्यक्रम सम्पन्न भएको छ ।

उक्त बैठकमा पार्टीका महामन्त्रीद्वय गगनकुमार थापा र विश्वप्रकाश शर्मा तथा सूचना, सञ्चार तथा प्रचार विभागका प्रमुख मीन विश्वकर्मा र पार्टीका मुख्य सचिव कृष्णप्रसाद पौडेलको सहभागिता थियो ।

महामन्त्री थापाले कांग्रेसको सङ्कल्प स्थानीय तह निर्वाचन–२०७९ मा उल्लिखित ‘सबल स्थानीय सरकार ः समुन्नत गाउँ, समुन्नत नगर’ भन्ने मूल नाराका साथ समावेश भएका विषय शिक्षा, स्वास्थ्य, प्राकृतिक स्रोत, वन तथा वातावरण, रोजगार, स्थानीय पूर्वाधार, कृषि रोजगारी उद्यम, सेवा प्रवाह, वित्तीय अनुशासनलगायत विभिन्न विषयमा स्थानीय तहको आगामी बजेट निर्माण गर्दा समावेश गर्ने सम्बन्धमा आफ्नो धारणा राखेका थिए ।

अर्का महामन्त्री शर्माले पार्टी र पार्टीबाट निर्वाचित जनप्रतिनिधिबीचको सम्बन्ध, नागरिकसँगको सहकार्य, पारदर्शिता र जवाफदेहिता, सामाजिक रूपान्तरण तथा स्रोतको समुचित व्यवस्थापनका बारेमा आफ्नो विचार राखेका थिए । प्रचार विभागका प्रमुख विश्वकर्माले विकास र सुशासन सँगसँगै जानुपर्ने तथा जनप्रतिनिधिको कार्यशैली र व्यवहार सरल हुनुपर्ने धारणा राखेका थिए ।