अन्तर्राष्ट्रिय

श्रीलङ्काको घरेलु ऋण अनुकूलन संसद्बाट पारित

१७ असार, एजेन्सी । श्रीलङ्काको घरेलु ऋण अनुकूलनसम्बन्धी प्रस्ताव केही विपक्षी सांसदहरूको समर्थनमा शनिबार संसद्मा बहुमतले पारित भएको छ ।
उक्त प्रस्तावको पक्षमा १२२ र विपक्षमा ६२ सांसदले मतदान गरेका थिए । श्रीलङ्का संसद्का सभामुख महिन्दा यापा अबेवर्देनाले संशोधनसहितको प्रस्ताव पारित भएको संसदलाई जानकारी दिएका छन् ।
विपक्षी सांसद वडिवेल सुरेश, कुमारा वेलगामा र स्वतन्त्र सांसद अनुरा प्रियदर्शन यापा र डा सुदर्शनी फर्नान्डोपुल्ले प्रस्तावको पक्षमा मतदानगरेका कोलम्बो ग्याजेटले उल्लेख गरेको छ ।
संसद्ले शनिबार घरेलु कर्जा अनुकूलन सम्बन्धी प्रस्तावमाथि पूर्णता दिन बहस गर्ने निर्णय गरेको थियो ।
यसअघि सार्वजनिक वित्त समिति (सीओपीएफ)ले घरेलु ऋण अप्टिमाइजेसनसम्बन्धी प्रस्तावलाई बहुमतले स्वीकृत गरेको थियो।
यसअघि डा हर्ष डे सिल्भाको अध्यक्षतामा रहेको सार्वजनिक वित्त समितिमा घरेलु ऋण अप्टिमाइजेसनबारे विस्तृत छलफल भएको थियो ।
कोलम्बो ग्याजेटका अनुसार श्रीलङ्काको केन्द्रीय बैंक (सीबीएसएल) का गभर्नर डा नन्दलाल वीरासिंघे, कोष सचिव केएम महिन्दा सिरिवर्द्धना र अर्थ, आर्थिक स्थिरता र राष्ट्रिय नीति मन्त्रालयका उच्च अधिकारीहरूसँग पनि छलफल भएको थियो। आर्थिक सङ्कटको सामाना गरिरहेको श्रीलङ्काले यसबाट मुक्ति पाउँनका लागि विभिन्न किसिमका आर्थिक र राजनीतिक उपायहरू अवलम्वन गरिरहेको छ ।