समाचार

गायक रविन तामाङको निधन

२० असार, काठमाडौँ । नेपाली साङ्गीतिक क्षेत्रका चर्चित्र रकगायक रविन तामाङको निधन भएको छ । तामाङको मङ्गलबर ६० वर्षको उमेरमा बूढानीलकण्ठस्थित आफ्नै घरमा निधन भएको उनकी दिदी भगवती तामाङले जानकारी दिए।

प्रहरी प्रभाग बूढानीलकण्ठका प्रहरी निरीक्षक दीपेन्द्र चन्दका अनुसार मङ्गलबार साँझ गायक तामाङले फोन नउठाएको भन्दै प्रहरीलाई फोन आएको थियो । तामाङको घरमा प्रहरी टोली पुग्दा उनी खाटको छेउ मृत भेटिएको चन्दले बताए।

मृत्युको कारण शव परीक्षणपश्चात मात्र खुल्ने प्रहरीले जनाएको छ । रविन एन्ड द रिभोलुसन ब्यान्डका भोकलिस्ट रहेका गायक तामाङ चलचित्र अभिनयमा समेत सक्रिय थिए। पछिल्लो समय चलचित्र ‘छड्के–२’ मा अभिनय गर्नुभएका गायक तामाङको नेपाली रकशैली गीतको विकासमा उल्लेख्य योगदान रहेको छ । उनको निधनमा नेपाली सङ्गीतकर्मीले सामाजिक सञ्जालमार्फत दुःख व्यक्त गरेका छन् ।

गायक तामाङका ‘नेपाल’, ‘एकता’, ‘चिसो–चिसो हावामा’, ‘माइला भाई’, ‘जति माया लाए पनि’, ‘दम मारो दम’, ‘भुल मा भुल्यो’ लगायत गीत चर्चित छन् ।