समाचार

हाम्रा नीति, नियम र व्यवहार कानुनअनुसार हुनुपर्छ : सञ्चार मन्त्री

काठमाडौँ, २१ असार । सञ्चार तथा सूचना प्रविधिमन्त्री रेखा शर्माले नेपालको संविधान र ऐनबमोजिम नीति, नियम, निर्देशिका र आचारसंहिता हुनुपर्नेमा जोड दिएका छन् ।

हाम्रा अधिकांश ऐनमा एउटा कुरा उल्लेख हुन्छ भने नियममा अर्कै कुरा हुन्छ, त्यसैगरी नीति एउटा बनाइन्छ भने व्यवहार, निर्देशिका र आचासंहितामा अर्कोकुरा उल्लेख भएकाले अब तिनमा तालमेल गराउनुपर्ने आवश्यकता औँल्याउँदै उनले यदी ऐन सही छैन भने त्यसलाई संशोधन गरी ऐनबमोजिम नियम बनाउनुपर्नेमा जोड दिए ।

विज्ञापन बोर्डद्वारा आज यहाँ आयोजित ‘विज्ञापन नीतिको मस्यौदा सम्बन्धमा सरोकारवालासँगको छलफल’ कार्यक्रममा सरकारका प्रवक्तासमेत रहेका शर्माले विज्ञापन नीति निर्माण गर्नुभन्दा पनि कार्यान्वयन कसरी गर्ने भन्नेबारेमा प्रष्ट दृष्टिकोण र योजना हुनुपर्ने बताए । “विज्ञापन नीतिको मस्यौदामा धेरै विषयवस्तु समेटिएको छ तर यसलाई कार्यान्वयनमा कसरी लैजान्छौँ, यसको कार्यान्वयनका लागि मेकानिजम कसरी बनाउँछौँ र कसरी व्यवस्थित ढङ्गबाट अगाडि बढाउँछौँ भन्ने विषय नै मुख्य कुरा हो भन्ने मलाई लाग्छ”, उनको भनाइ थियो ।

कतिपय गलत विज्ञापनका कारण मान्छेको ज्यान जानेसम्मको अवस्था आउनु गलत भएको बताउँदै मन्त्री शर्माले त्यसको व्यवस्थापनका निम्ति पनि प्रष्ट नीति आवश्यक रहेकामा जोड दिए । मानव स्वास्थ्यको हिसाबले के कुराको विज्ञापन गर्न मिल्छ के कुराको विज्ञापन गर्न मिल्दैन भन्ने विषयमा पनि अति बढी कडाइ हुनुपर्ने उनले बताए ।