आर्थिक

बजेट जनमुखी र जनताप्रति जवाफदेही छ : मुख्यमन्त्री जम्कट्टेल

मकवानपुर, २१ असार । बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेलले प्रदेश सरकारद्वारा प्रस्तुत बजेट जनमुखी, सन्तुलित र जनताप्रति जवाफदेही रहेको बताएका छन् । विनियोजित बजेटमाथि प्रदेशसभा बैठकमा सदस्यहरूले उठाएका प्रश्नहरूको आज जवाफ दिँदै उनले बजेट इमान्दारीपूर्वक कार्यान्वयन हुने विश्वास दिलाए ।

आर्थिक वर्ष २०८०/८१ को सेवा र कार्यको लागि प्रदेश सञ्चित कोषबाट केही रकम विनियोजन र खर्च गर्ने सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०८० माथि आज भएको छलफलमा उठेका विभिन्न जिज्ञासाको उत्तर दिने क्रममा मुख्यमन्त्री जम्मकट्टेलले प्रदेश नीति, योजना आयोगलाई अझ गतिशील र जिम्मेवार बनाइने स्पष्ट पारे । उनले प्रदेशको दीर्घकालीन योजनालाई कार्यान्वयन गर्दै लैजाने सरकारको नीति रहेको उल्लेख गरे ।

प्रदेशसभाका सबै सदस्यहरूलाई सम्मानजनक भूमिका निर्वाह गराउन प्रदेश सरकारले कार्यदल बनाउने र उनीहरुलाई विकास र प्रशासन क्षेत्रको अनुगमनको प्रत्यक्ष निर्देशन दिने कार्यलाई प्रोत्साहन गर्ने मुख्यमन्त्री जम्मकट्टेलको भनाइ थियो ।

कृषि उत्पादन, गुणस्तरीय शिक्षा, स्वास्थ्योपचार, भौतिक पूर्वाधारका क्षेत्रमा दलगत स्वार्थभन्दा माथि उठेर योजना र बजेट विनियोजित गरिने दृढता व्यक्त गर्दै उनले पर्यटन, वन सम्पदा र जडीबुटी खेतीका लागि उच्च प्राथमिकता दिने बताए ।

प्रदेश सरकारले सत्तापक्ष र प्रतिपक्ष भनी विभेद नगरीकन वहुवर्षीय आयोजना, राष्ट्रिय गौरवको आयोजना र भौतिक पूर्वाधार विकासलाई प्रदेशको १३ वटै जिल्लामा सन्तुलित ढङ्गबाट वितरण गरिने लक्ष्य रहेकाले कुनै पनि दलले शङ्का गर्ने स्थिती नरहेको मुख्यमन्त्री जम्मकट्टेलले स्पष्ट पारे ।

प्रशासन संरचनालाई दक्ष एवं प्रभावकारी तुल्याउँदै लैजाने र प्रदेशको सबै जिल्लामा जनताप्रति सेवाभावले काम गर्ने वातावरणका साथ कर्मचारीलाई परिचालन गरिने बताउँदै उनले बागमती प्रदेशको राजधानी हेटौँडालाई सङ्घीय राजधानी काठमाडौँबाट जोड्ने भीमफेदी–कुलेखानीअन्तर्गत पर्ने फाखेल, सिस्नेरी सडकलाई आगामी मङ्सिर महिनाभित्रै मर्मतसम्भार गरी कालोपत्र गर्ने कार्यसम्पन्न गर्ने लक्ष्य रहेको उल्लेख गरे ।