गण्डकी प्रदेश

‘उज्यालो गण्डकी प्रदेश’ घोषणालाई प्रभावकारी बनाउन प्राधिकरणको सहयोग आवश्यक’

२२ असार, मोरङ । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले ‘उज्यालो गण्डकी प्रदेश’ घोषणाको कार्यक्रमलाई थप प्रभावकारी बनाउन विद्युत् प्राधिकरणको सहयोग आवश्यक भएको बताएका छन् ।

मुख्यमन्त्री पाण्डे र नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ्बीच गण्डकी प्रदेशका सबै नागरिकको घरमा विद्युत् पुर्याउने विषयमा आज भएको भेटघाट एवं छलफलमा उनले उक्त कुरा बताए ।

गण्डकी प्रदेशका ९९ दशमलव ५ प्रतिशत घरमा विद्युत् पुगिसकेकाले बाँकी घरमा विद्युतीकरणका लागि सरकार र प्राधिकरणले मिलेर अघि बढ्नुपर्ने बताउँदै उनले ग्रिड लाइन, लघु जलविद्युत् र सौर्य ऊर्जाबाट पनि विद्युतिकरण भएको र सकेसम्म सबै ठाउँमा ग्रिडलाइन विस्तार गर्नेगरी अघि बढ्नुपर्ने बताए ।

पछिल्लो केही समय यता विद्युत् छिनछिनमा अनियमित हुँदा उपभोक्ताले गुनासो आउने गरेको बताउँदै उहाँले त्यसबाट उद्योग, व्यापार, व्यवसायमा समस्या आउने भएकाले समाधानतर्फ ध्यान दिन उनले अनुरोध गरे । राष्ट्रिय गौरवको योजनाको रुपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजना निर्माणका सम्बन्धमा मुख्यमन्त्री पाण्डेले चासो लिएका थिए ।

पृथ्वी राजमार्ग, मध्यपहाडी सडकलगायत सडक विस्तार भएका ठाउँमा पोल स्थानान्तरण नहुँदा दुर्घटना हुन सक्ने खतरा रहेको बताउँदै उनले त्यसतर्फ विद्युत् प्राधिकरणले ध्यान दिनुपर्नेमा जोड दिए ।

छलफलमा कार्यकारी निर्देशक घिसिङले तत्काल उज्यालो पुर्याउन दुर्गम ठाउँमा लघु जलविद्युत्, सौर्य ऊर्जा पनि प्रभावकारी हुने बताउँदै प्राधिकरणले ग्रिड लाइनबाट विद्युत् पुर्याउने गरी काम अघि बढाइरहेको जानकारी दिए ।

उज्यालो गण्डकी प्रदेश कार्यक्रमलाई सहयोग पुग्ने गरी सबस्टेशन निर्माण, ग्रिड लाइन विस्तारको काम अघि बढिरहेको उहाँले मुख्यमन्त्री पाण्डेलाई जानकारी गराए ।