२३ असार, धनुषा । नेकपा एमालेले मधेश प्रदेशसभा बैठक अवरुद्ध गरेको छ । अर्थमन्त्री संजय यादवले बजेट रकमान्तर गरी भ्रष्टाचार गरेको आरोप लगाउँदै एमालेका सांसदहरुले बैठक बस्नासाथ अवरुद्ध गरेका हुन् ।
एमालेका सांसद लखन दासले स्थानीय तहमा पठाएको ससर्त अनुदान र आर्थिक वर्षको अन्तिममा विभिन्न मन्त्रालयबाट बजेट रकमान्तर गरी सर्लाहीमा मौत्र योजना पठाएको विषयमा मुख्यमन्त्री सरोज कुमार यादवले जवाफ दिनुपर्ने माग गरेका थिए ।
प्रदेशसभामा मुख्यमन्त्रीले जवाफ नदिएसम्म प्रदेशसभाको बैठक चल्न नदिने सांसद दासले बताएपछि बैठक अवरुद्ध भएको हो । एमालेका प्रदेश सांसद दिपेन्द्र ठाकुरले आर्थिक मसान्तको अन्तिम समयमा बजेट रकमान्तर गरी अर्थमन्त्री र सरकारले नीतिगत भ्रष्टाचार गरेको आरोप लगाए ।





