राजनीति

श्रमिकको न्यूनतम पारिश्रमिक २५ हजार पुर्याउन सरकारलाई दबाब दिने काँग्रेस मजदुर यूनियनको निर्णय

२५ असार, काठमाडौं । नेपाली कांग्रेसको शुभेच्छुक संस्था नेपाल ट्रेड युनियन कांग्रेसले श्रमिकको न्यूनतम पारिश्रमिक बढाउन माग गर्दै सरकारलाई दबाब दिने भएको छ ।

नेपाल ट्रेड युनियन कांग्रेसले आज देशभरका ७७ वटै जिल्ला र सातवटै प्रदेशलाई परिपत्र गर्दै श्रमिकको न्यूनतम पारिश्रमिक रु १५ हजारबाट बढाएर २५ हजार पु¥याउन माग गरेको छ ।

नेपाल ट्रेड युनियन कांग्रेसका महासचिव अजयकुमार राईले अहिले बजार मूल्य वृद्धि र महङ्गी बढेकाले वर्तमान अवस्थामा लिँदै आएको पारिश्रमिकले श्रमिकलाई दैनिक जीवनयापनमा समस्या भएकाले पारिश्रमिक वृद्धि गर्नका लागि सरकारलाई दबाब दिन लागेको बताए ।


नेपाल ट्रेड युनियन कांग्रेसले आगामी असार २७ गते ‘श्रमिकको न्यूनतम पारिश्रमिक रु २५ हजार निर्धारण गर’ व्यहोराको एसएमएस प्रधानमन्त्री, श्रममन्त्री र सचिवलाई गर्ने, असार २८ गते ७७ वटै जिल्लाका प्रमुख जिल्ला अधिकारीमार्फत श्रममन्त्रीलाई ज्ञापनपत्र बुझाउने भएको छ ।

यस्तै, असार २९ गते सातै प्रदेशमा प्रदेश सरकारलाई ज्ञापनपत्र बुझाउने, असार ३१ गते काठमाडौँमा राष्ट्रिय समितिले श्रममन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको महासचिव राईले बताए ।