समाचार

नेपाल र चीनबीचको सम्बन्ध अझ सुमधुर र प्रगाढ हुने विश्वास

२६ असार, काठमाडौँ । सङ्घीय संसद्, प्रतिनिधिसभाका उपसभामुख इन्दिरा रानाले नेपाल र चीनबीचको सम्बन्ध अझ सुमधुर र प्रगाढ हुने विश्वास व्यक्त गरेका छन् ।

यही असार २३ र २४ (जुलाई ८–९ २०२३) गते चीनको गुइयाङ प्रान्तमा भएको इको फोरम ग्लोबल गुइयाङ–२०२३ कार्यक्रममा भाग लिएर सोमबार राति स्वदेश फर्किएपछि उनले आज पत्रकार सम्मेलन गरी सो कुरा बताएका हुन् ।

यही असार २३ गते कार्यक्रम उद्घाटन समारोहमा उपसभामुख रानाले सम्बोधन गरेका थिए । उक्त समारोहमा रानाले नेपालको पर्यावरणीय अवस्था, जलवायु परिवर्तन र त्यसको असरलगायतका विषयमा बोलेका थिए ।

उक्त उद्घाटन सत्रको प्रमुख वक्ताका रूपमा जनवादी गणतन्त्र चीनका उपप्रधानमन्त्री एवं चिनियाँ कम्युनिष्ट पार्टीको पोलिटब्युरो सदस्य लिउ गोउजोङ र गिनीका उपराष्ट्रपति र मलेसियाका विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रीले पनि आफ्नो मन्तव्य राखेको उपसभामुख रानाले जानकारी दिए ।

सो कार्यक्रममा सहभागी हुन चीन गएको उपसभामुख रानासहितको नेपाली टोलीलाई गुइछुउ मा उक्त प्रदेशका सरकार तथा पार्टीका नेताले भेट तथा स्वागत गरेका थिए । कार्यक्रमको मुख्य सत्रमा नेपाली सङ्घीय प्रतिनिधिमण्डलले ग्रीन एण्ड लो–कार्बन डेभलपमेन्ट शीर्षकको छलफलमा भाग लिएको थियो ।