समाचार

नेपाललाई लायन्समार्फत विश्वभर चिनाउनेछु : निर्देशक बुर्लाकोटी

२७ असार, काठमाडौँ । लायन्स क्लबको अन्तरराष्ट्रिय निर्देशक पदमा नेपालका लायन बालकृष्ण बुर्लाकोटी निर्वाचित भएका छन् । अमेरिकाको बोस्टन सहरमा हालै सम्पन्न अन्तरराष्ट्रिय सम्मेलनबाट उनी उक्त पदमा निर्वाचित भएका हुन्।

विश्वका दुई सय भन्दा बढी देशमा परोपकारी सामाजिक संस्था लायन्स समाज सेवामा सक्रिय छ । लायन बुर्लाकोटी लायन्सको विश्वभरका १८ अन्तरराष्ट्रिय निर्देशकमध्येको एक हुन्। अन्तरराष्ट्रिय निर्देशकका रुपमा उनले सन् २०२५ सम्म आफ्नो नेतृत्व प्रदान गर्नेछन्। उनी ‘लायन्स क्लब मल्टिपल डिस्ट्रिक ३२५’ नेपालका पूर्व ‘चियरपर्सन’समेत छन्। लामो समयदेखि सामाजिक सेवामा सक्रिय उनले आफ्नो नेतृत्व समयमा क्लबमा नयाँ ‘रेकर्ड’ बनाउन सफल भएका थिए ।

लायन बुर्लाकोटीले लायन्सको सय वर्षको इतिहासमा पहिलो पटक एकै कार्यकालमा एकसय क्लब खोलेर विश्व रेकर्ड बनाएका थिए । दुई हजार आठ सय ६३ ‘मेम्बर सिपग्रोथ’ तथा ‘सय एमजेएफ कन्ट्रिव्युसन’ गराउन उनी सफल भएका थिए ।

नेपाली लायन्सका सदस्य माझ भिजेर काम गरेकाले तथा देशभरका लायन्स सदस्यको मन र विश्वासका कारण आफू अन्तरराष्ट्रिय निर्देशक पदमा विजयी भएको उनले जानकारी दिए। क्लबको अन्तरराष्ट्रिय निर्देशक पदका विजयी भएपछि उनले विज्ञप्ति जारी गर्र्दै भने, “नेपालमा लायनिजमको विकास र विस्तारमा मेरो सक्रियता निरन्तर छ । आगामी दिनमा यो सक्रियतालाई अझ बढाउँदै नेपाललाई लायन्समार्फत संसारभर चिनाउनेछु ।”

लायन्सको अन्तरराष्ट्रिय निर्देशक बनेर संसारभर नेपालको झण्डा र राष्ट्रिय गानलाई चिनाउने अभियानमा लाग्ने प्रतिबद्धता उनले व्यक्त गरे। साथै लायन्सको अन्तरराष्ट्रिय निर्देशक बनेपछि नेपालमा धेरै भन्दा धेरै स्थायी परियोजना ल्याउनमा भूमिका खेल्ने र बढी भन्दा बढी अवसर अन्तरराष्ट्रियबाट सिर्जना गर्न आफू सक्रिय हुने उनले जानकारी दिए।