पु.समाचार

सीता दाहालको पार्थिव शरीरमा प्रचण्डसहित दुई छोरीले दिए दागबत्ती

२७ असार, काठमाडौँ । दिवंगत सीता दाहालको पशुपतिनाथ आर्यघाटमा अन्तिम संस्कार गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र उनका दुई छोरीहरू रेणु र गंगा दाहालले दिउँसो साढे ३ बजे हिन्दु परम्परा अनुसार पार्थिव शरीरमा दागबत्ती दिएका छन् ।

प्रधानमन्त्री दाहालसँगै रेणु र गंगा पनि चिता वरपर घुमेका थिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली, कांग्रेसका सभापति शेरबहादुर देउवा, पूर्वप्रधानमन्त्री माधव नेपाल लगायत नेताहरू सीतालाई श्रद्धाञ्जली अर्पण गर्न पशुपतिनाथ पुगेका थिए ।

दाहालको बुधबार बिहान ८ बजेर ३३ मिनेट जाँदा काठमाडौंको थापाथलीस्थित नर्भिक अस्पतालमा निधन भएको हो । श्रद्धाञ्जलीका लागि सीता दाहालको पार्थिव शरीर बिहान ११ बजेदेखि दिउँसो १ बजेसम्म पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडा, कोटेश्वरमा राखिएको थियो ।