राजनीति

कुनै पनि सन्दर्भमा भ्रष्टाचार स्वीकार्य हुँदैन : पौडेल

२९ असार, काठमाडौँ । प्रतिनिधिसभाका सदस्य एवं नेपाली कांग्रेसका केन्द्रीय सदस्य प्रदीप पौडेलले सुशासन कायम गर्न राजनीतिक दलसँगै पत्रकारिता जगत्ले पनि महत्त्वपूर्ण भूमिका खेल्नुपर्ने बताएका छन् ।

राष्ट्रिय समाचार समिति (रासस) को केन्द्रीय कार्यालयमा आज आयोजित नेपाल प्रेस युनियन रासस प्रतिष्ठान शाखाको चौथो अधिवेशनमा उनले राजनीतिक दलसँगै पत्रकारिता क्षेत्रले सुशासन कायम गर्न सहकार्य गर्नुपर्ने बताए ।

“कुनै पनि सन्दर्भमा भ्रष्टाचार स्वीकार्य हुँदैन । भ्रष्टाचारमा शून्य सहनशीलताको नीति निर्माण गर्न नसकेसम्म सुशासन कायम गर्न सकिँदैन”, उनले भने, “त्यसैले सुशासन कायम गर्ने सन्दर्भमा पत्रकारिता क्षेत्रको महत्त्वपूर्ण भूमिका हुन्छ ।”

नागरिकको समस्या र आवश्यकताका विषयमा आम सञ्चारमाध्यमले प्राथमिकता दिनुपर्नेमा जोड दिँदै उनले अधिवेशनबाट आउने नयाँ नेतृत्वलाई राजनीतिक निकटताभन्दा पनि वर्गीय हितमा केन्द्रित रहन सुझाव दिए ।

कार्यक्रममा राससका कार्यकारी अध्यक्ष धर्मेन्द्र झाले कर्मचारीको क्षमता अभिवृद्धिमा आफूले विशेष ध्यान दिएको बताए । “राससलाई २१औँ शताब्दी सुहाउँदो र प्रतिस्पर्धी समाचार एजेन्सी बनाउने काम गरिरहेका छौँ । पछिल्लो समय बहुभाषामा समाचार सम्प्रेषण गर्ने तयारी भइरेको छ”, उनले भने ।