३० असार, काठमाडौं । राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसीले मिटरब्याज सम्बन्धी विधेयक तत्काल ल्याउन सरकारलाई आग्रह गरेका छन् । अध्यक्ष केसीले मिटरब्याजसम्बन्धी कानुन आउन नदिन चलखेल भइरहेको आशंका गर्दै दबाबलाई परास्त गरेर उक्त विधेयक ल्याउन सरकारलाई आग्रह गरेका हुन् ।
केसीले जारी गरेका विज्ञप्तिमा भनेका छन्, ‘मिटरब्याजपीडितलाई राहत दिलाउन ल्याउन थालिएको मिटरब्याजसम्बन्धी विधेयक आउन नदिनका लागि भएका चलखेल र दबाबलाई परास्त गर्दै सरकारले उक्त विधेयक ल्याउनुपर्नेमा हामीले जोड दिन चाहन्छौँ ।’
उनले मिटरब्याजीहरूले जनतालाई गम्भीर रूपमा शोषण र आर्थिक दोहन गरिरहेको बताएका छन् । त्यस्तो शोषण कार्यलाई रोक्न र शोषण र दोहन गर्नेहरूलाई कडा कारवाहीको दायरामा ल्याउनुपर्ने केसीले बताएका छन् ।
‘देशमा मिटरब्याजपीडित जनताको समस्या गम्भीर बन्न गएको छ र त्यो समस्या समाधानका लागि सरकारले उपयुक्त कानुनी व्यवस्थासहित कडा कदम उठाउनुपर्ने आवश्यकता छ’ केसी भनेका छन् ।





