३० असा, काठमाडौँ । पार्टीका प्रवक्ता एवं अर्थमन्त्री डा. प्रकाशशरण महतले नेपाल सबै जातजाति, धर्म, समुदाय, संस्कृति, सभ्यता र वेषभूषाका हिसाबले साझा पहिचान बोकेको मुलुक भएको बताएका छन् ।
तमू (गुरुङ) सङ्घ नेपाल बागमती प्रदेश भेलामा बोल्दै उनले भने, “नेपाल जातजाति, संस्कृति र सभ्याताले परिपूर्ण छ । समावेशी मुद्दा उठाउने र कार्यान्वयन गर्ने पहिलो पार्टी कांग्रेस हो । दलभित्रका आन्तरिक जीवनका विषय पार्टीको औपचारिक मञ्चमा मात्रै राख्नु बुद्धिमानी हुन्छ ।”
पार्टीका केन्द्रीय सदस्य एवं सहरी विकासमन्त्री सीता गुरुङले जनआन्दोलनका उपलब्धिका रूपमा रहेको गणतन्त्र, सङ्घीयता, धर्मनिरपेक्षता र समावेशी समानुपातिक प्रतिनिधित्वमार्फत लोकतन्त्र र समृद्धिका लागि गोलबन्द हुन आह्वान गरे ।
उनले भने, “सङ्गठन सुदृढीकरण गर्ने क्रममा भेला आयोजना गरिएको छ । मुलुकको जातीय, धार्मिक र सांस्कृतिक विविधताको संरक्षण गर्दै राष्ट्र निर्माणमा सहभागी हुनु आजको आवश्यकता हो ।”
केन्द्रीय सदस्य तारामान गुरुङले पार्टी र सङ्गठनको हितका लागि भेलाबाट प्राप्त हुने सुझाव महत्त्वपूर्ण हुने भएकाले कार्यान्वयनका लागि पार्टी नेतृत्वलाई सुझाव दिए ।
अर्का केन्द्रीय सदस्य राधा घलेले राष्ट्रियता, समावेशी लोकतन्त्र र समाजवाद मुख्य आदर्श बोकेको कांग्रेसले समावेशी चरित्रलाई बलियो तुल्याउँदै नेता तथा कार्यकतालाई न्यायोचित जिम्मेवारी र मूल्याङ्कन गर्ने परिपाटीको विकास गर्न सुझाव दिए ।
नेपाल लोकतान्त्रिक आदिवासी जानजाति महासङ्घका अध्यक्ष ओमबहादुर घर्ती र सङ्घका अध्यक्ष भुवनसिंह गुरुङले विगतमा मुलुकमा व्याप्त अन्याय, अत्यचार र राजनीतिक परिवर्तनका लागि आदिवासी जनजाति समुदायको ठूलो योगदान रहेकाले समानुपातिक समावेशी सिद्धान्त कार्यान्वयन गर्दै सोहीअनुरुपको जिम्मेवारी दिइनुपर्ने विचार प्रकट गरे ।
बागमती प्रदेश मातहतका १३ जिल्लाका तमू समुदायको भेलाले सङ्गठन र पार्टी सृुदृढीकरणका लागि ठोस निष्कर्षसहितको सुझाव प्रस्तुत गर्ने छ । सो अवसरमा सभापति देउवाले ती जिल्लाका तमु समुदायका नयाँ अध्यक्षलाई पार्टीको जिम्मेवारी र सदस्यतासम्वन्धी प्रमाणपत्र प्रदान गरे । कार्यक्रममा तमू समुदायको संस्कृति र वेषभूषा झल्कने गीत, सङ्गीत र नृत्य प्रस्तुत गरियो ।





