राजनीति

महामन्त्रीले जिल्ला सभापतिसँग गरेको छलफलको प्रक्रिया नपुगे महरको आरोप

३ साउन, काठमाडौं । नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले जिल्ला सभापतिको भेलामा सभापति सहभागी नभएको विगतको उदाहरण नभएको बताएका छन् ।

सदस्य महरले महामन्त्री गगन थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरुसँग गरेको छलफलको प्रक्रिया नपुगेको उनले बताए । उनले भने, ‘कृष्णप्रसाद भट्टराई, गिरिजाप्रसाद कोइराला, सुशील कोइराला पार्टी सभापति हुँदा सभापति नराखेर जिल्ला सभापति भेला भएको मैले सुनेको छैन ।’

त्यस्तै, उनले केन्द्रीय सदस्यहरुलाई समेत भेलामा डाकिएको भए सबैले अपनत्व लिने अवस्था आउने बताए । ‘केन्द्रीय कार्यालय हामीभन्दा बाहिर होइन । हो भने जानकारी पाउँ’, उनले अघि भने ।

महामन्त्रीद्वय थापा र शर्माले २१ र २२ असारमा ७७ जिल्लाका सभापतिलाई काठमाडौं डाकेर संगठन निर्माणका विषयमा छलफल गरेका थिए ।