राजनीति

कांग्रेस बैठकमा श्रेष्ठको प्रश्न- खाँणलाई पक्राउ हुनबाट बचाउन सकिन्थ्यो, किन रोकिएन ?

५ साउन, काठमाडौँ । नेपाली कांग्रेसका नेता गोपालमान श्रेष्ठले अभियोग लाग्दैमा दोषीलाई जस्तो व्यवहार गर्न नमिल्ने दावी गरेका छन् ।

पार्टी केन्द्रीय कार्यसमितिको शुक्रबारको बैठकमा बोल्दै नेता श्रेष्ठले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएका नेता बालकृष्ण खाँणलाई पक्राउ गर्नुभन्दा पहिले नै किन नरोकिएको भन्दै प्रश्न गरेका छन् ।

“आज एउटा साथी पुर्पक्षमा थुनिएको छ । उसलाई मौकामै पनि मद्दत गर्न सकिन्थ्यो होला”, उनले अघि भने, “पक्राउ हुन नदिनै पनि सकिन्थ्यो होला, त्यो किन गरिएन ?”

उनले अब विषय अदालतमा पुगिसकेको र उसले गल्ती गरेको वा नगरेको भनेर अदालतले छुट्याउने बताए । अनुसन्धानको क्रममा पुर्पक्षमा पठाइएको र अहिले नै फैसला भइसकेको जसरी धारणा बनाइहाल्नु ठीक नहुने नेता श्रेष्ठले बताए।