अन्तर्राष्ट्रिय

रेलको ठक्करबाट दुर्लभ प्रजातिको सिंहको मृत्यु

६ साउन, एजेन्सी । भारतको पश्चिमी प्रान्त गुजरातमा रेलले ठक्कर दिँदा दुर्लभ प्रजातिको एउटा सिंहको मृत्यु भएको छभने गम्भीर घाइते भएको अर्कोको उपचार भइरहेको छ ।

राज्यको अम्रेली जिल्लास्थित पिपाभाव बन्दरगाह नजिक शुक्रबार झिसमिसेमा मालबाहक रेलले ती सिंहलाई ठक्कर दिएको रेल विभागका एक जना कर्मचारीले सिन्ह्वालाई टेलिफोनमा बताए ।

रेलमार्गबाट हिँडिरहेका सिंहको बथानमा एउटा मारिएको र एउटा घाइते भएको उनले बताए । मरेको र घाइते दुवै भाले हुन् । दुई वटा पोथी भने सुरक्षित रुपमा रेलमार्गबाट निस्केका थिए ।

सिंहको बथान देख्नेवित्तिकै रेलका चालकले ब्रेक लगाएका थिए । निरन्तरको वर्षा र टाढैबाट वन्यजन्तुको आवागमन स्पष्ट देख्ने नसक्दा उक्त दुर्घना भएको हो । घाइते सिंहको स्थानीय चिडियाखानामा उपचार भइरहेको छ ।