राजनीति

एमाले प्रतिगामीहरुसँग हातेमालो गरेर गठबन्धन तोड्ने षड्यन्त्र गर्दै छ : अध्यक्ष नेपाल

६ साउन, काठमाडौँ । नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले घुमिफिरी वर्गशत्रु भनेको कांग्रेस हो भन्ने पारेर अहिलेको गठबन्धनलाई तोड्न खोज्ने अनेक षड्यन्त्रप्रति सचेत रहन नेता तथा कार्यकर्तालाई सुझाव दिएका छन् ।

समाजवाद अध्ययन केन्द्र नेपालद्वारा आज यहाँ आयोजित समाजवाद बहस र सङ्घर्ष विषयक कार्यक्रममा उनले व्यवहार र सिद्धान्त सोचेजस्तो नभएकाले मुलुकको आवश्यकता, धरातल र यथार्थ बुझेर अघि बढ्नुपर्नेमा जोड दिए ।

पूर्वप्रधानमन्त्री नेपालले भने, “कतिपय कम्युनिष्ट पार्टी प्रतिगामीसँग हातेमालो गरिरहेका छन् । दलभित्रका कमी–कमजोरी र सीमालाई बुझेर सङ्गठन विस्तार र शक्ति वृद्धिमा ध्यान दिन आवश्यक छ ।”

पूँजीवाद अस्तित्वको सङ्कटमा पुगेको र मुलुक समाजवाद हुँदै साम्यवादमा प्रवेश गर्ने निश्चित रहेको बताउँदै अध्यक्ष नेपालले उग्रवामपन्थ र दक्षिणपन्थको भासमा डुबेका कम्युनिस्टलाई ठीक मार्गमा हिँडाउने एउटै उपाय भनेको वैज्ञानिक समाजवाद भएको धारणा राखे ।

विश्वमा कम्युनिस्ट पार्टी धरमराइरहेको अवस्थामा नेपालमा भने लोकप्रिय दलका रूपमा उदाएको प्रसङ्ग उल्लेख गर्दै उनले व्यक्तिवादी प्रवृत्ति र विकृतिलाई समयमै चिरफार गर्न सकिएन भने अनेक चुनौतीको सामना गर्नुपर्ने चेतावनी दिए ।

पूर्वप्रधानमन्त्री नेपालले भने, “समाजवाद जनताका हित र कल्याण गर्ने व्यवस्था हो, राजनीतिलाई जनतादेखि जनतासम्मको धारमा मोड्नुपर्छ, हामी जनताका पीडा र वेदनासँग जोडिनुपर्छ, नेपालमा कम्युनिष्ट पार्टीको भविष्य उज्यालो छ ।”