राजनीति

नेपालमा कम्युनिस्ट पार्टी हराभरा र ठीक मार्गबाट अघि बढिरहेको छ : भुसाल

नेकपा (माओवादी केन्द्र)का नेतृ पम्फा भुसालले नेपालमा कम्युनिस्ट पार्टी हराभरा र ठीक मार्गबाट अघि बढिरहेको बताएका छन् । उनले मुलुकको अभिभारा र माग रहेकाले एउटै बलियो कम्युनिस्ट पार्टी बनाएर समाजवाद हासिल गर्ने लक्ष्यमा अघि बढ्नुपर्ने आजको आवश्यकता भएको स्पष्ट गरे ।

समाजवाद अध्ययन केन्द्र नेपालद्वारा आज यहाँ आयोजित समाजवाद बहस र सङ्घर्ष विषयक कार्यक्रममा नेतृ भुसालले भने, “समाजवाद अहिले रक्षात्मकरूपमा रहेको छ, सबै दलको कार्यदिशा समाजवाद नै बनेर अघि बढिरहेको छ । एउटै बलियो कम्युनिस्ट पार्टी नभई समाजवाद हासिल गर्न सकिन्न ।”

नेकपा एकीकृतकै केन्द्रीय सदस्य अशेष घिमिरेले कम्युनिस्ट पार्टी सरकारमा रहँदा मजदुर प्रताडित रहनुपर्ने तथा कृषकका उत्पादन सडकमा फालिनुपर्ने अवस्थाले मुलुक समाजवादतर्फ उन्मुख भएको हो र भन्ने प्रश्न सिर्जना गरेको भनाइ राखे ।

खुला विश्वविद्यालयका डिन डा खगेन्द्र प्रसाईँले नेताको भाषण र वक्तव्यबाट नभई जनताको हित र कल्याणसँग जोडिएका स-साना सुधारलाई क्रान्तिको भर्याङ बनाउन सकिने विचार प्रकट गरे ।

आयोजक संस्था समाजवाद अध्ययन केन्द्रका अध्यक्ष अर्जुन राईले विचार र सिद्धान्तको बहसले समाजवादको जगलाई बलियो तुल्याउने भएकाले आदर्श, विचार र सिद्धान्तका आधारमा गन्तव्यको पहिचान गरी उद्देश्य प्राप्तिका लागि अघि बढ्नुपर्ने आजको आवश्यकता रहेको बताए ।

हिजो, आज र भोलिका लागि समाजवादी अभियन्तामा समर्पित भनिएको उक्त कार्यक्रममा अध्यक्ष नेपालले र नेतृ भुसालले समाजवाद बहस र सङ्घर्ष नामक पुस्तक सार्वजनिक गरे ।

अध्यक्ष नेपाल, पूर्वप्रधानमन्त्रीद्वय डा. बाबुराम भट्टराई र झलनाथ खनाल, राम कार्की, जगन्नाथ खतिवडा, डा विजय पौडेल, प्रा डा पिताम्बर शर्मालगायत १५ जना व्यक्तिका कृतिमा समेटिएका विचारको अध्ययनले समाजवादका विषयमा पाठकलाई ज्ञान र चेतना प्रदान गर्ने छ ।