राजनीति

बरिष्ठ नेता डा. कोइरालाको प्रस्तावः आगामी निर्वाचन कांग्रेस एक्लै लड्ने तयारी आजबाटै गर्नेछौँ भनी शपथ खाऔं

७ साउन, काठमाडौं । नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले केन्द्रीय कार्यसमितिको बैठक प्रत्यक्ष प्रसारण (लाइभ) हुँदा पारदर्शीतालाई प्रबद्र्धन गरेको बताएका छन् ।

यही साउन २ गतेदेखि जारी कांग्रेस केन्द्रीय कार्यसमिति बैठकमा आज आफ्ना धारणा राख्दै डा. कोइरालाले कार्यविधि तय गरेरै बैठक प्रत्यक्ष प्रसारण गरेको भए अझ राम्रो हुने धारणा राखे ।

उनले भने, “कुन विषय बन्द कोठामा गर्ने र कुन विषय खुल्ला गर्ने भन्ने कुराको परिधि तय गरिनुपथ्र्यो । मलाई लाग्छ परराष्ट्र, समसामयिक विषय, अन्तरदलीय विषय, निर्वाचन रणनीतिआदि विषयको स्पष्ट मार्गदर्शन बनाऔँ ।”

पछिल्लो आम निर्वाचनमा गठबन्धन गरेकै कारण कांग्रेस संसदभित्र ठूलो दल भएको बताउँदै उनले ठूलो दलको हैसियतले सरकारको नेतृत्व गर्न पार्टीलाई प्राविधिक कारणले सम्भव नभएको बताए । यद्यपि कांग्रेसको समर्थनको सङ्घीय सरकार रहको र प्रदेश सरकारमा पनि कांग्रेसको उपस्थिती बलियो रहेको उल्लेख गरे ।

“कांग्रेसले गठबन्धन गरेर ठीक वा बेठीक ग¥यो भनी अब बस्ने समय छैन, आगामी निर्वाचन कांग्रेसले एक्लै लड्ने तयारी आजबाटै गर्नेछौँ भनी शपथ खानुपर्नेछ”, नेता डा. कोइरालाले भने, “किनकी गत निर्वाचनबाट हामीले प्राप्त गरेको मत विभाजित कम्युनिष्ट पार्टीभन्दा पनि कम छ ।”

गठबन्धनको मर्मअनुसार सरकार सञ्चालन भएको छ कि छैन वा मन्त्रीले स्वतस्फुर्तरुपमा काम गर्न पाएका छन् कि छैनन् भन्ने विषयमा भने सोच्नुपर्ने समय आएको उनको भनाइ थियो ।

उनले कांग्रेस सरकारमा छ, भन्ने अनुभूति जनतालाई दिलाउने तर्फ कांग्रेसबाट प्रतिनिधित्व गर्ने मन्त्रीलाई सचेत हुन आग्रह गरे । देशमा पछिल्ला दिनमा दण्डहिनता बढेर गएको उनको भनाइ छ ।

“नीतिगतरुपमै कानुन बनाएर दण्डहिनतालाई प्रश्रय दिने काम भइरहेको छ । हाल संसद्मा रहेको मुलुकी संहितासम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक–२०८० तत्काल खारेज गरिनुपर्छ । यदि यो विधेयक संसद्बाट पारित भए देशमा दण्डहिनताले संस्थागत रुप लिन्छ”, उनले भने । दण्डहिनताको अन्त्य गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेलोस् भन्ने चाहना जनताले राखेको उनको भनाइ छ ।

उनले समाजवादी मोर्चा किन बनेको हो र गठबन्धनभित्रैबाट बनेको यसको औचित्य के भनी उनले प्रश्न गरे । भुटानी शरणार्थी प्रकरण विषयमा उनले केन्द्रीय समितिले पारदर्शीता र सुशासनका पक्षमा उभिन सक्ने नैतिक बल दिनेमा विश्वास व्यक्त गरे ।

प्रत्यक्ष निर्वाचन प्रणालीभित्रबाटै समानुपातिक र समावेशीको सुनिश्चितता गरिनुपर्ने र त्यसको पहल कांग्रेसले गर्नुपर्ने नेता डा. कोइरालाको भनाइ थियो ।

यसैगरी उनले विदेशमा बस्ने नेपालीलाई समानुपातिक प्रणालीमा मताधिकार दिने भनेर निर्वाचन आयोगले भनेको उल्लेख गर्दै यससम्बन्धी कानुन बनाएर कार्यान्वयनका लागि कांग्रेसले जोड दिनुपर्ने आवश्यकता औँल्याए ।

नेता डा. कोइरालाले विभिन्न कारणले कांग्रेसको मूलधारबाट अलग्गिएका र छेउ किनारामा पुगेका कांग्रेसजनलाई सम्मानजनकरुपमा घर फर्कने बाटो खोलिनुपर्ने धारणा व्यक्त गर्दै कांग्रेसले व्यक्तिको राजनीतिक सुरक्षा र राष्ट्र निर्माणमा समान अवसर सबैलाई दिन्छ भन्ने सन्देश प्रवाह गर्नसके असन्तुष्ट भएकालाई पुनः मूलधारमा ल्याउन सकिने तर्क गरे ।

उनले विधानअनुसार अविलम्ब महासमितिको बैठक बोलाई नीति तथा कार्यक्रम ल्याउनेतर्फ जानुपर्ने माग गरे ।