राजनीति

भीमसेन थापाले मुलुकलाई ठूलो गुन लगाउनुभएको छ : रक्षामन्त्री

९ साउन, काठमाडौँ । कार्यवाहक प्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले राष्ट्रिय विभूति भीमसेन थापाले राष्ट्रियता र भौगोलिक अखण्डताको रक्षा तथा सामाजिक रुपान्तरणका पक्षमा ठूलो गुन लगाउनुभएको उल्लेख गरेका छन् ।

राष्ट्रिय विभूति भीमसेन थापा स्मृति प्रतिष्ठानले आज यहाँ आयोजना गरेको कार्यक्रममा उनले भीमसेन थापा राष्ट्रभक्त, देशभक्त हुनुका साथै प्रेरणाका स्रोत भएको विश्वास व्यक्त गरे ।

कावा प्रधानमन्त्री खड्काले भने, “थापाको शासनकालमा सेना, कानुन, सामाजिक, आर्थिक पक्षमा अनुकरणीय सुधारका अभियान चलाउनुभएको थियो । सैनिक सेवालाई आधुनिकिरण गर्नुभएको कार्य हाम्राका लागि प्रेरणाको स्रोत बनेको छ । उहाँले सुधारका अभियान थालनी गरेर मुलुकलाई ठूलो गुन लगाउनुभएको थियो ।”

पूर्वजले सुरु गरेका अभियानलाई आफ्नो कार्यकालमा पनि निरन्तरता दिई थापाले देशको सिमानालाई चारैतिर विस्तार गर्नुभएको उनले बताए । “परिस्थितिवस मुलुकमा आउने अप्ठेरोलाई स्थायित्व दिन कूटनीतिक कौशलताका आधारमा सुगौली सन्धि गरेर मुलुकको सिमालाई स्थायित्व दिनुभयो”, कावा प्रधानमन्त्री खड्काले भने ।

तत्कालीन सामाजिक रुपान्तरणका लागि थापाले कमाराकमारी राख्न नपाउने व्यवस्थालाई स्थापित गर्नुभएको, समाजिक चाडपर्वमा खर्चको सीमा तोक्ने काम गर्नुभएको, नापतौल व्यवस्थापन, ब्याजदर निर्धारण, हुलाकको व्यवथापन गर्नुभएको उनले स्मरण गरे ।

जग्गा अभिलेख राख्ने बन्दोबस्त पनि उनकै शासनकालमा प्रारम्भ भएको उल्लेख गर्दै कावा प्रधानमन्त्री खड्काले समाजमा हुने अनियमितता र भ्रष्टाचार नियन्त्रण गर्न आवश्यक प्रबन्ध गर्नुभएको कार्य प्रेरणाको स्रोत भएको बताए ।

भीमसेन थापाले धरहरा, सुन्धारा, बागदरबार, टेकु पुल, थापाथली पुललगायत भौतिक र ऐतिहासिक संरचना निर्माण सम्पन्न भएको उल्लेख गर्दै उनले समाज सुधार र विकास प्रेमी कामबाट आफूहरु प्रेरित भएको सुनाए ।

ऐतिहासिक काम र शासकीय सुधारका सम्बन्धमा भीमसेन थापाले गर्नुभएको योगदान अतुलनीय रहेको उल्लेख गर्दै उनले यसबाट वर्तमान सरकार पे्ररित रहेको बताए । “दुभाग्यबस उहाँ सत्ता षडयन्त्रको शिकार हुनुभयो, झुटा आरोप सहन नसकी उहाँले जीवन स्वयं त्याग्ने बाटो रोज्नुभयो”, कावा प्रधानमन्त्रीले भने ।